सुशीला कार्कीमाथि महाभियोग लगाउने काँग्रेस–माओवादीले ठूलो मूल्य चुकाउनु पर्ने छ : एमाले
सिंगो नेपाली महिलाको अपमान
प्रकाशित २०७४ वैशाख १७ आइतबार
239
Shares
काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गरेको महाभियोग प्रस्तावको एमालेले भत्र्सना गरेको छ ।
कार्कीविरुद्ध महाभियोग दर्ता भएलगत्तै एमाले नेताहरु एक ठाउँमा भेला भएका छन् । एमाले सचिव योगेश भट्टराईले कार्कीमाथि महाभियोग लगाउनु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप, संविधानले व्यवस्था गरेको शक्तिपृथकीकरण सिद्धान्तको हत्या र अधिनायकवादी कदम हो, भनेका छन् । एमालेले यसको डटेर सामना गर्ने भन्दै भट्टराईले एमालेले संसदमा यो प्रस्ताव फेल गराउन बताए ।
उनले भने, ‘यो प्रस्ताव फिर्ता लिनु पर्छ । नभए काँग्रेस र माओवादीले ठूलो मूल्य चुकाउनु पर्ने छ ।’ भट्टराईले नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश भएकी सुशीला कार्की स्वच्छ छवि र निडर भएकाले भ्रष्टाचारीहरुले वदला लिन खोजेको बताए ।
उनले भने, ‘यो सिंगो नेपाली महिलाको अपमान हो । पहिलो महिला प्रधानन्यायाधीश त्यसमाथि निष्कलंक छवि भएको व्यक्तिमाथि महाभियोग लगाउनु आफैमा अपराध हो ।’ उहाँलाई महाभियोग लगाउनु पर्ने कुनै कारण छैन । भ्रष्टाचारीहरु कारबाहीका दायरामा आउने डरले त्रसित भएकाले नियोजित रुपमा महाभियोग लगाइएको हो, भट्टराईले भने ।
नेपाली काँग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्ताव आइतबार संसद सचिवालयमा दर्ता भएको छ । काँग्रेसका १ सय ८९ र माओवादीका ६० जना सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छन् ।