नागरिक समाज नताती निर्वाचन नहुने निष्कर्ष, तात्न दलहरु एकजुट
प्रकाशित २०७४ वैशाख १७ आइतबार
611
Shares
पाल्पा । बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् ।
पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रुपमा गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वसन्त शर्मा कुशलले नागरिक समाजले स्थानीय तहको अधिकार र कर्तव्यका बारेमा मतदाता बुझाउन सकेको अवस्थामा निर्वाचनको महत्व नागरिक तहमा अझ बढ्ने बताए ।
नेकपा एमालेका केन्द्रीय लेखा विभाग सदस्य धनेन्द्रराज घिमिरेले स्थानीय तहको निर्वाचनमा दुई चरणमा भए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएमा नागरिकका अधिकार सुनिश्चित हुने विचार व्यक्त गरे ।
रापप्राका जिल्ला अध्यक्ष डुवबहादुर कुँवरले सबै दल मिलेर स्थानीय निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।
नागरिक समाज पाल्पाका सचिव भेषराज सुवेदीले लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा गुज्रिरहेकाले स्थानीय निर्वाचनको विकल्प नै नभएको बताए ।
नेपाल नागरिक समाज, पाल्पाका पुष्कर रेग्मीले मतदाता शिक्षालाई निरन्तरता दिई मतदातालाई सचेत बनाउन सहयोग पुग्ने र सरकारलाई निर्वाचन गराउन दबाब दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री गङ्गा पौडेल, लालु राना, सुनिता शर्मा, कानुन व्यवसायी नारायण बस्याल, गीता शर्माले सरकारले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका विषयक कार्यपत्र पत्रकार तिलक पाठकले प्रस्तुत गरेका थिए ।
स्थानीय निर्वाचन निर्धारित समयमा नै सम्पन्न गर्न नागरिक तहबाट दबाब सिर्जना गर्नुपर्ने केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले बताए । रासस