प्रमुख निर्वाचन आयुक्तले पर्यवेक्षकलार्इ गराए सचेत
प्रकाशित २०७४ वैशाख १६ शनिबार
257
Shares
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिए।
निर्वाचन आयोगमा आयोजित ‘पर्यवेक्षणसम्बन्धी राष्ट्रिय सङ्घसंस्थासँगको अभिमुखीकरण तथा अन्तक्र्रियामा उहाँले निर्वाचनमा हिमाल, पहाड र तराईमा स्वतन्त्र र निष्पक्ष ढङ्गबाट पर्यवेक्षणको कर्तव्य पूरा गर्न आग्रह गरे । प्रमुख आयुक्त यादवले भने– ‘‘निर्वाचनको साक्षीका रूपमा मतदातामाझ उपस्थित हुने पर्यवेक्षकहरूले आफ्नो व्यावसायिक उच्च मर्यादालाई पालना गर्नु नै हुनेछ।”
विगतका निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले गरेको निर्वाचन पर्यवेक्षणको गरेको र निष्पक्ष पर्यवेक्षण नगर्ने केही पर्यवेक्षक संस्थालाई कारबाही गरिएको घटनाको स्मरण उनले गराए।
प्रमुख आयुक्त यादवले भने– “तपाईंहरु हाम्रो पनि पर्यवेक्षण गर्नुहुन्छ, आयोगले पनि तपाईंहरुको पर्यवेक्षण गर्छ, हामीबाट त्रुटि भयो भने तपार्इंहरूले हामीलाई सल्लाह सुझाव दिन हुन्छ तर तपार्इंहरुले त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछ ।”
जिल्लामा निर्वाचन अनुगमनका लागि सहसचिवहरूलाई खटाइएको, सूक्ष्म अनुगमनको पनि गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै उनले वैशाख ३१ मा हुने निर्वाचनमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीलाई काठमाडौँ उपत्यकामा मात्रै अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाइएको बताए।
प्रमुख आयुक्त यादवले भने– “आयोगले निर्वाचनको तयारीलाई अन्तिम चरणमा पु¥याएको समयमा निर्वाचन व्यवस्थापनलाई असर पर्ने गरी राजनीतिक तहबाट आएका विचारले आयोगलाई चिन्तित तुल्याएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पर्यवेक्षकले पनि आफ्नो आचारसंहिताको पूर्ण पालना गरेर निर्वाचन पर्यवेक्षण हुने विश्वास व्यक्त गरे।
यसैबीच उक्त कार्यक्रमको समापनमा आयुक्त नरेन्द्र दाहालले पर्यवेक्षकले आचारसंहिता विपरीत कार्य गरेमा आयोगले कारबाही गर्ने बताए। अरू देशमा पर्यवेक्षकलाई आयोगले कारबाही गर्ने परम्परा नभए पनि नेपालमा आचारसंहिता विपरीत कार्य गरेमा कारबाही हुने व्यवस्था गरिएको छ – उनले भने । रासस