'संविधान कार्यान्वयनको लागि काँग्रेसको जीत अनिवार्य'
प्रकाशित २०७४ वैशाख १६ शनिबार
626
Shares
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा संशोधनको प्रक्रिमा रहेको नेपालको संविधान संशोधन विधेयक पारित गर्नका लागि प्रमुख प्रतिपक्षी दल एमाले लगायत व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसंग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले शनिबार विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई संबोधन गर्दै नेका सभापति देउवाले सो आग्रह गरेका हुन् ।
नेपाली जनताको चाहना अनुरुप संविधानसभाबाट निर्माण गरी जारी गरिएको वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि पेश भएको संशोधन विधेयकमा अरुदलका भावनाको समेत कदर गरिने विचार व्यक्त गर्दै सभापति देउवाले भने, “संविधान संशोधन विधेयकमा परिमार्जन गर्नु पर्ने बिषय एमालेसँग पनि केही भए दिए हुन्छ, त्यसलाई पनि हामी समेट्न तयार छौं । ” उनले एमालेको भावनालाई समेत समेटेर विधेयक पास गर्नै पर्ने विचार व्यक्त गरे ।
उनले केही दलले संविधान संशोधन विधेयकलाई समर्थन नगरेपनि विधेयक दुई तिहाई बुहमतले पारित हुने विश्वास व्यक्त गर्दै विधेयकप्रति असहमति भएपनि विधेयक पास हुने प्रक्रियालाई अबरोध नगर्न आग्रह गरे ।
‘तराई÷मधेशको जनताको मात्र होइन, पहाडको पनि भावना समेट्नु पर्छ’, सभापति देउवाले भने ‘मधेशका जनताको भावना पनि कदर गर्नुपर्छ । त्यसैले मधेशी समुदायको सवै भावना समेट्न नसकेपनि केही भावना समेटेका छौं।’ उनले संविधान संशोधन विधेयक पास भएपछि संविधानको सर्वस्वीकार्य हुन्छ भनेर नैं कांग्रेसले यसैलाई प्राथमिकता दिएको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जिते मात्र प्रजातन्त्रको रक्षा, सुदृढीकरण र समावेशिताको रक्षा हुने विश्वास व्यक्त गरे । “संविधान सभाको दुई वटा निर्वाचन भए तर जव नेपाली कांग्रेस सवैभन्दा ठूलो पार्टी भयो र हाम्रा सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुभयो अनि मात्र संविधान आउन सक्यो” कांग्रेस सभापति देउवाले भने,“विगतमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ सालको आन्दोलन लगायत सवैजसो राजनीतिक परिवर्तन कांग्रेसको नेतृत्वमा भएका हुन् ।”
कार्यक्रममा सभापति देउवाले राजनीतिक स्थायित्व र विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए । उनले आजसम्मका राजनीतिक परिवर्तनले हाँसिल गरेका उपलब्धिको जगेर्ना गर्दै लोकतन्त्रको संस्थागत विकास गरेर संविधानले प्रत्याभूत गरेका अधिकारको उपयोगका साथै मुलुकको विकास र समृद्धिको लागि निर्वाचन अपरिहार्य भएको दावी पनि गरे ।
स्थानीय नागरिकलाई लोकतन्त्रको अनूभूति दिलाउन र नागरिकहरुको सहभागितामा स्थानीय विकासलाई गति दिन स्थानिय निर्वाचनको ठूलो महत्व रहेको पनि चर्चा गरे । सभापति देउवाले सबै राजनीतिक दलहरुलाई चुनावमा सहभागी गराउनैका लागि निर्वाचन आयोगको परामर्श लिएर नै दुई चरणमा निर्वाचन गर्न सहमति भएको पनि बताए । उनले कांग्रेसले मात्र दुई चरणमा चुनाव गर्न दबाब नदिएको उल्लेख गरे ।
सो कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेस एकताबद्ध रहेको र पार्टीका सबै कार्यक्रममा सबै नेताहरु सहभागी रहदै आएको पनि बताएका थिए । सो पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई ÷मधेशका जनताको भावनालाई राष्ट्रियतालाई बलियो बनाएर विकासको गतिलाई तीव्रतर बनाउन संविधान संशोधनको प्रस्ताव ल्याइएको र निर्वाचन पनि दुई चरणमा हुने तारतम्य मिलाइएको उल्लेख गरे ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस आफ्नो भिजन र मिसनमा स्पष्ट भएको बताउदै भने,“ अनेक बाधा, व्यवधान र अप्ठेरालाई सामना गर्दै हामी आफ्नो लक्षमा निरन्तर अगाडि बढीरहेका छौ । देशलाई जोगाएर जनताको अधिकारको संरक्षण गर्दै राष्ट्रिय उन्नतिका लागि हामी सधैभरी समर्पित हुँदै आएका छौ ।”
उनले देशका सामु आएका समस्या र चुनौतिहरुको समाधान कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै भने,“ अरु दलहरु समस्या सिर्जनामा छन,समाधानमा होइन।” उनले नेपाललाई अहिलेको समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा कांग्रेसले नै ल्याएको बताए । उनले नेपाली कांग्रेसले समावेशितालाई विधानमा मात्र हैन, संगठन र ब्यवहारमा पनि कार्यान्वयनमा लगेको दावी गरे ।
२०४६ पूर्वको अवस्थासंग वर्तमान नेपालको तुलना गर्दै भने,“ पूर्वाधार निर्माणका साथै आर्थिक–सामाजिक क्षेत्र र नागरिकको जीवनमा आएको गुणात्मक परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएको हो ।”
राजनीतिक अस्थिरता, द्घन्द्घ र अशान्तिका बीचमा पनि नेपालले आर्थिक सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धि नेपाली कांग्रेसले लिएका सही नीतिको परिणाम भएको उनको दावी थियो ।
उनले जननिर्वाचित संविधानसभाले बनाएको संविधान जारी भएपछि राजनीतिक व्यवस्थाको टुंगो लागि सकेकोले नेपाली कांग्रेस अब जनताको आम्दानी बढाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएर अगाडि बढेको बताए । उनले कृषि क्रान्ति,पर्यटन र ऊर्जाको विकासबाट नै सम्ृद्धि हासिल गर्न सकिने र त्यसको भिजन नेपाली काग्रेससंग मात्र भएको दावी गरे ।
उनले मधेशको भावनालाई समेटेर संविधान संशोधन गरिने कुरा संविधान जारी गरिदाको बखतमा नै सबै पार्टीलाई महशूस भएको उल्लेख गर्दै हिमाल,पहाड, तराई मधेश सबैलाई समेटेर लैजादा नै नेपालको राष्ट्रियता बलियो हुने विचार व्यक्त गरे ।
कार्यक्रममा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर यसैमार्फत सबै नेपालीलाई समेटेर समृद्धि हासिल गर्ने उदार भावनाले नेपाली कांग्रेसले संविधान संशोधनलाई विशेष महत्व दिएको बताए ।
उनले केही दलहरु प्रदेश प्रदेशका नेपाली नागरिकलाई लाञ्छित र आलोचित गरेर मुलुकलाई कमजोर बनाउन उद्दत रहेको बेला नेपाली कांग्रेसले सबैलाई जोडेर राष्ट्र र राष्ट्रियता सबल बनाउने कामको अगुवाई गरेको पनि उल्लेख गरे । कांग्रेसले निर्वाचन जितेमा जनताका सपना पूरा गर्दछ भन्ने कुराको दृष्टान्त संविधानसभाको दुइवटा निर्वाचनले प्रमाणित गरेको पनि उनले दावी गरे । “कांग्रेस हार्दै गर्दा पहिलो संविधानसभाले संविधान बनाउन सकेन” उनले भने “ दोस्रो संविधान सभाको निर्वाचनमा जित्दै गर्दा संविधान आयो ।”
कार्यक्रममा प्रचार प्रसार समन्वय उपसमितिका सहसंयोजक एवम् केन्द्रीय सदस्य गगन थापाले प्रमुख प्रतिपक्ष एमाले लगाएत एकाध दलहरुले संशोधनका विषयमा भ्रम छरिरहेको आरोप लगाउदै भने, “संविधानलाई सर्वस्वीकार्य गर्ने कार्यलाई लाञ्छित गर्ने कार्य आपत्तिजनक छ । नगरिकहरुलाई अपमानित गर्ने काम भएको छ ।”
उनले नेपाली कांग्रेस राष्ट्रियता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउदै भने,“ प्रदेशको सीमना तलमाथि होला तर देशको हुदैन । देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुट्याउन सक्छन ।” उनले नेपाली काँग्रेसकै नेतृत्वमा शान्ति र संविधानको ऐतिहासिक दायित्व पूरा भएको समृद्धिको नेतृत्व पनि कांग्रेसले नै पूरा गर्ने दावी गरेका थिए ।
कार्यक्रममा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकको सभापतित्वमा भएको थियो । ठूलो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यहरु ,भातृ संगठन एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र कार्यकर्ताहरु पनि उपस्थित थिए ।