कैलाली काँग्रेसको उम्मेदवार छनोट प्रक्रिया केही दिनका लागि स्थागित
प्रकाशित २०७४ वैशाख १३ बुधबार
468
Shares
धनगढी। नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ। काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताए। केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उनले भने।
काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताए।
नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ। एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिए। सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ।
नेकपा (माओवादी केन्द्र)ले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ।
राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन्। चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन्। उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लागिसकेका छन्। रासस