राप्रपाको चुनावी घोषणापत्र आउँदै, महाधिवेशनको दुई महिनापछि कार्यसम्पादन समिति गठन
कार्यम्पादनमा महिला परेनन्
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
441
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वैशाख ११ गते पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले चुनावी घोषणापत्र परिमार्जन सहित पारित गर्ने निर्णय गरेको हो । पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले ११ गते राजधानीमा एक समारोहको आयोजना गरी घोषणापत्र सार्वजनिक गरिने बताए ।
बैठकले महाधिवेशन भएको दुई महिनापछि मात्रै केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर जवारा, नेताहरु दीपक बोहोरा, राजीव पराजुली, विक्रम पाण्डे वुद्धिमान तामाङ, टंक ढकाल, रामचन्द्र राय, धवलशम्शेर राणा, सुनिलबहादुर थापा, ध्रुवबहादुर प्रधान, रामचन्द्र राय, राजेन्द्र लिङ्देन, जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत कार्यसम्पादन समितिमा छन् ।
यद्यपि, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा महिला एक जना पनि परेनन् । त्यस्तै वरिष्ठ नेता लोकन्द्रबहादुर चन्दका बाबु छोरा नै कार्यसमितिमा अटाएका छन् । बैठकले मधेस केन्द्रीत दललाई समेत निर्वाचनमा सहभागि हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दलहरुलाई आह्वान गरेको छ । आन्दोलनका कार्यक्रम जारी राखेर भएपनि राप्रपाले मधेस केन्द्रीत दललाई स्थानीय तहको निर्वाचनमा सहभागि हुन भनेको हो ।