एमालेले आयोगलाई भन्यो–चुनावमा कब्जाको प्रयास हुँदै छ यसलाई रोक्नुस्
सरकारलाई चार आरोप, 'पूर्व लडाकुलाई करौडौं बाँड्ने र विद्युत् प्राधिकरणलाई रातारात प्रयाेग गर्ने खेल'
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
498
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले आचारसंहिता उल्लंघन र निर्वाचन प्रभावित पार्ने खालका गतिविधि बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकषर्ण गराएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङको नेतृत्वमा गएको शीर्ष नेताहरुको टोलीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटर ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।
मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै एमालेले त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गरायो ।
ध्यानाकर्षण पत्र बुझाएपछि उपनेता नेम्बाङले हाम्राकुरासँग भने, ‘हामीले वैशाख ३१ मै निर्वाचन हुनु पर्छ । त्यसमा हामी दृढताका साथ लागेका छौँ । हाम्रो पूर्ण सहयोग रहन्छ भन्यौ । अनि सरकार तथा सरकारका मन्त्री, सांसद र नेताहरुले आचारसंहिता मिचेको बारे पनि हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’
माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकासा भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाैँ बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात ध्यानाकर्षणसाथ पेश गरिएकाे नेम्बाङले बताए ।
एमालेका चार आरोप
विपक्षी एमालेले सरकारले निर्वाचन आचारसंहिता मिचेर चुनाव प्रभावित पार्न र कब्जाको प्रयास भइरहेको आरोप लगाएको छ । ध्यानाकर्षण पत्रसँगै सरकारले गरेका पछिल्ला गतिविधिका लिखित प्रतिलिपिहरु समेत बुझाएको नेता नेम्बाङले बताए । उनले भने, ‘हामीले मूख्य चार विषयमा ध्यानाकर्षण गराएका छौँ ।’ ध्यानकर्षणबारे उनले बुँदागत रुपमा यसरी भने ।
–यही निर्वाचनको तयारी भइरहेकैबीचमा शान्ति मन्त्रालयमार्फत् माओवादी पूर्व लडाकुहरुलाई प्रतिव्यक्ति लाख बढीका दरले अर्बौँ रुपैँया उपलब्ध गराउने प्रक्रिया अघि बढाएको कुरा प्राप्त भएको छ । यस्लाई रोक्नुस् भन्यौँ ।
–खेलकूद मन्त्रालय अर्न्तगत बजेटको कार्यान्वयन नभएको विषयमा देशभर करौडौँ रकम खर्चिने तयारी रहेको देखिन आयो । रोल्पामा मात्रै खेलकुदका लागि झण्डै ६ करोड रकम खर्च गर्ने प्रक्रिया अघि बढाइएको पाइयो । जसको प्रमाणसहितको पत्र हामीसँग छ । त्यो पनि हामीले आयोगलाई ध्यानाकर्षण पत्रसँगै बुझाएका छौँ ।
–यस्तै, रोल्पामा मात्रै अन्तरगाविस सडक परियोजना भन्दै एक सय १३ वटा आयोजना पठाएको देखियो । त्यसको पनि प्रमाण हामीसँग छ । त्यो पत्र पनि आयोगमा बुझाएका छौँ ।
–विद्युत् प्राधिकरणले देभर विद्युत् प्राधिकरणका हाकीम सरुवा गर्नलाई निर्वाचन आयोगसँग सहमति मागेको देखियो । रातारात गाउँगाउँमा ट्रान्सफर्मर, पोल, मिटर वितरण गरेर निर्वाचन प्रभावित पार्ने खेल भइरहेकाे देखियो । त्यसैले यी विषयमा निर्वाचनका बेला सहमति नदिनुस् भनेर भन्यौँ ।
जवाफमा प्रमुख निर्वाचन आयुक्तले के भने ?
प्रमुख निर्वाचन आयुक्त यादवले यसलाई गम्भीर रुपमा लिने जवाफ दिए । निर्वाचन वैशाख ३१ मै हुन्छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुन्छ, प्रमुख आयुक्त यादवले भने, ‘केही मन्त्रीहरु कारबाहीको प्रक्रियामा छन् । यो विषयलाई पनि गम्भीर रुपमा हेर्छौँ ।’ के भन्छन् खेलकुद मन्त्री ?
खेलकुद मन्त्री दलजीत श्रीपाइलीले एमालेले भनेजस्तो निर्वाचन आचारसंहिता लागू भएपछि रोल्पामा खेलकुदको कार्यक्रम गएको भन्ने कुरा सत्य होइन भने । उनले थपे, ‘यो चैत १७ अघि नै गएको योजना हो । पूर्वस्वीकृत कार्यक्रम हो ।’ एमालेले भनेको रुपैंयाको राशि सही हो ? जवाफमा उनले भने, ‘एमाउन्ट त सही हो । तर कार्यक्रम निर्वाचनको तयारी अघिनै गइसकेको हो ।’ अाचारसंहिता लागेपछि केही गतिविधि नभएकाे मन्त्री श्रीपाइलीकाे भनाई छ ।
हाकीम सरुवाबारे अनुमति मागेको हो, तर निर्वाचनकै सपोर्टका लागि : कुलमान
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हाम्राकुरासंग भने, ‘हामीले खाली ठाउँका लागि सहमति मागेका हाैँ । जहाँ हाकीम छैनन् त्यहाँ निर्वाचनकै सपोर्टका लागि नियुक्ति र सरुवाकाे अनुमति मागेका हौँ ।’ निर्वाचनका लागि विद्युत् चाहिँदैन र ? कुलमानले प्रतिप्रश्न गरे ।
उनले भने, ‘लोडसेडिङ हेर्ने मान्छे चाहियो, कर्मचारी छैन, कोही रिटायर्ड भए, कोही ठाउँ खाली थिए । सबै कुरामा बन्देज लगाएर कसरी हुन्छ ।’ रातारात पोल वितरण गर्ने, ट्रान्सफर्मर दिने भन्ने भित्रि योजना अनुसार प्राधिकरणलाई प्रयोग गरिएको छ भन्ने कुरा आयो नि ! जवाफमा कार्यकारी निर्देशक घिसिङले भने, ‘अारोप लगाउनेले लगाए होलान् । त्यस्तो छैन । हामी नियमित बजेटमा काम गर्ने हो ।’
निर्वाचनका लागि विद्युत् चाहिँदैन र विद्युत् आपूर्तिका लागि कर्मचारी चाहिँदैन भने यो आरोप लगाउनु स्वभाविकै हो । पछिल्लो समय कुलमान देशभरबाटै लोडसेडिङ भगाउने अभियानमा अहाेरात्र खटिएका छन् । कुलमानले विद्युत् व्यवस्थापन मात्र नभइ काम गर्ने थिती समेत बसाल्ने अभ्यास गरिरहेका छन् ।