झापाका दुई गाउँपालिकामा एमालेले गर्यो सर्वसम्मत उम्मेदवार चयन
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
757
Shares
काँकडभिट्टा (झापा)। नेकपा (एमाले)ले झापाका दुई वटा गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ। एमालेका मोर्चा प्रमुख शिव ढुङ्गेलका अनुसार झापा गाउँपालिका र केचना कवल गाउँपालिकाबाट सर्वसम्मत उम्मेदवारको नाम चयन भएको हो।
उनले झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली र उपाध्यक्ष पदका लागि कुन्तीदेवी बुढाथोकीको नाम सर्वसम्मत चयन भइसकेको बताए। त्यसैगरी, केचना कलक गाउँपालिकाबाट अध्यक्ष पदका लागि शेरबहादुर खत्री र उपाध्यक्ष पदमा धनमाया दाहालको नाम चयन भएको छ।
यी दुवै गाउँपालिकाका वडामा समेत ५० प्रतिशत वडाध्यक्ष र सदस्यको टुङ्गो लागिसकेको प्रमुख ढुङ्गेलले बताए । एमालेले बाँकी रहेका आठ वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने कार्यलाई तीव्रता दिएको छ।
पार्टीले उम्मेदवार चयनमा विभिन्न समिति बनाएको छ। ती समितिले आज बेलुकासम्ममा सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्गो लगाइसक्ने जनाएको छ। ढुङ्गेलले उम्मेदवारका आकांक्षी धेरै रहेका कारण मुख्य पदमा चयन गर्न समस्या भइरहेको बताए।
त्यसैगरी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म कुनै पनि नगरपालिका र गाउँपालिकाका प्रमुखको टुङ्गो लगाइनसकेको जनाएको छ। रासस