arrow

'काँग्रेस एमालेबाट जनता अघाए, अब राप्रपालाई भोट हाल्छन्'

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
kamalthapa_makawanpur.jpg

हेटौंडा । राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा अबको बैकल्पिक शक्ति रहेको बताएका छन् । बिहीबार हेटौंडाको भुटनदेवी उच्च माविको चौरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले काँग्रेस एमाले र माओबादीको गतिविधिदेखि रुष्ट रहेकोले उनीहरुले नयाँ विकल्प खोजीरहेको दाबी पनि गरे । थापाले जनताले खोजीरहेको नयाँ विकल्पको रुपमा राप्रपा आएको भन्दै अब जनताको चाहाना राप्रपातिर रहेको स्पष्ट पारे । 

 

३ वटा ठूला दलहरुको घमण्डका कारण देशले अहिलेसम्म निकास नपाएको भन्दै देशलाई निकास दिने काम राप्रपाको रहेको पनि बताए । उनले राप्रपाले बोकेको हिन्दूराज्यको एजेण्डामा धेरै नेपालीको सहमति रहेको भन्दै यही एजेण्डाबाट राप्रपा अबको वैकल्पिक शक्तिको रुपमा आएको उनको भनाई थियो । उनले सबै समक्ष राप्रपालाई स्थानीय तहमा जिताउनको लागि अपिल पनि गरे । 

 

थापाले राप्रपाले जितेका स्थानीय तहमा बालबिबाह र बहुबिबाह पूर्ण रुपमा निषेध गर्ने, भोतिक पूर्वाधार सम्पन्न गरि स्थानीय तहलाई आत्मनिर्भरता तिर लाग्न प्रेरित गर्ने र भ्रष्टाचारमुक्त स्थानीय तहको घोषणा गर्ने बताए । उनले स्थानीय तहमा जितेको खण्डमा ६ महिनाभित्र मकवानपुरलाई नमूना जिल्ला बनाउने घोषणा पनि गरे । 

 

कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष पशुपति शम्सेर राणाले राप्रपाको जनलहर बढ्दै गएको भन्दै राप्रपा अबको निर्वाचनबाट नयाँ शक्ति बनेर आउने बताए । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु कोमल वली, रेखा थापा, नेता गणेश थापा, दिपकबहादुर सिंह, पुर्व केन्द्रीय सदस्य मधु अधिकारी, नवराज विष्टलगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभाध्यक्ष राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ