arrow

मधेस केन्द्रीत ६ दल एउटै 'छाता' अाेढ्ने (अपडेट)

संसदमा गच्छदार पछि परे, वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाइयो

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
madhesi_neta.jpg

काठमाडौं । मधेस केन्द्रीत ६ दल एक भएका छन् । विहिबार दिउँसो काठमाडौंको एक पार्टी प्यालेसमा पार्टी एकता घोषणा भएको हो । एकता कार्यक्रमबाटै पार्टीको चुनाव चिह्न ‘छाता’ र झण्डा सार्वजनिक गरिएको छ ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्रराय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी नेपाल, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वकाे नेपाल सद्भावना पार्टीबीच एकता भएको हो । 

सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि घोषणा सभाकैबीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडियाे । ६ दलबीच एकता भएसँगै 'राष्ट्रिय जनता पार्टी' २५ सांसदसहित संसदको ५औं ठूलो दल बनेको छ । ६ दल मिलेपछि संसदमा विजयकुमार गच्छदारकाे पार्टी एक स्थान पछि परेकाे छ ।  गच्छदारसँग संसदमा १८ सिट भएकाे छ ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ । संसद र सडकमा ठूलो शक्तिका रुपमा उभ्याउँदै मधेसका मुद्दालाई स्थापित गर्न पार्टी एकता गरेको नेताहरुले बताएका छन् । एकीकरणले दलका नेता, सांसद र कार्यकर्ता उत्साही देखिएका छन् ।

पाँचै दलका अध्यक्षहरुले पार्टी एकताको विज्ञप्तिमा हस्ताक्षर गर्दा कार्यकर्ताले ताली बजाउँदै जय मधेसको नारा लगाए । शीर्ष नेताहरुले हस्ताक्षर गर्दै गर्दा पछाडि रहेको ब्यानर परिवर्तन गरी नयाँ राखिएको थियो । जसमा नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी, चुनाव चिह्न छाता र रातो, सेतो र हरियो रङ्गको तीन लहरभित्र छाता रहेको झण्डा थियो ।

यस्तै, मोर्चामा आवद्ध उपेन्द्र यादवको पार्टी र नयाँ शक्तिबीच पनि एकता हुँदैछ । विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच विहीबार एकीकरण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ