arrow

महिलाहरु भटाभट पुरानो पेशा छाड्दै, मेयर बन्न प्रधानाध्यापकबाटै राजीनामा

logo
नारायण रिजाल, 
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
baglung_mahila_candidet.jpg

बागलुङ । आगामी बैसाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका महिलाहरु स्थायी जागिर छोडेर उम्मेदवारको दौडमा लागीरहेका छन् । संघीय संरचना अनुसार स्थानीय तह बढी शक्तिशाली हुने तथा प्रमुख र उपप्रमुख मध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि चुनावमा महिला आकर्षण बढेको देखिएको छ । त्यस्ता महिलाहरु आफ्नो चलिआएको पेशा छाड्न समेत तयार देखिएका छन् ।

 

नेपाल महिला संघका जिल्ला अध्यक्ष एवं महिला नेतृ शकुन्तला शर्मा अहिले बागलुङ नगरपालिकाको प्रमुखको दाबेदारीमा छिन् । उनले स्थायी शिक्षकबाट राजीनामा दिएर नै राजनितिमा होमिएकी छन् । 

 

२०५० साल बैशाख २० गतेबाट शिक्षकको स्थायी जागिरमा प्रवेश गरेकी शर्माले २०७३ चैत्र १ गतेदेखीे शिक्षक सेवाको जागिर छोडेर नै नगर प्रमुखको लागि दावि गरेकी हुन । उनी आफु राजनीति गरेर जनताको सेवा गर्नकै लागि स्थायी जागिर छाडेरको र पार्टिले मुल्याङकन गरेर दिएको जिम्मेवारी पुरा गर्ने अठोट समेत लिएकी छन । 

 

आफु जागिरमा रहेको बेला निरन्तर भातृ एव सुवेक्षुक संस्थामा बसेर काम गरेको र हाल नेपाल टे«ड युनियन काँग्रेसको केन्द्रीय नेतृत्वमा समेत रहेको उनी बताउँछिन् । जिल्लाको महिला सञ्जालमा पनि कुशल नेतृत्व समालेको महिलाहरुले बताउँछन् । उनी बागलुङ सदरमुकाममा रहेको बालमन्दिर निमाविमा अध्यापन गराउँदै आएकी थिईन् । उनले भनिन् जनताको सेवाका लागि जागिर छोडेर लागेकी हुँ, पार्टीले पक्कै पनि सही मुल्याङकन गर्नेछ । 

 

नेकपा एमालेको निर्वाचन कमिटी सदस्य समेत रहेकी ममता देवी शर्माले त विद्यालयको प्रध्यानध्यापकबाट नै राजीनामा दिई नगरप्रमुखको नेतृत्वका लागि होमिएकी छन् । केही समय अगाडि पत्रकार सम्मेलन गरेर आफू बाग्लुङ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारको दाबेदार रहेकाले शिक्षक सेवाबाट राजीनामा दिएर राजनीतिमा आएको बताएकी छिन् । ‘म नगरपालिकाको मेयर पदको दाबेदार हुँ, पार्टीले विश्वास गयो भने म उम्मेदवार बन्छु,’ उनले भनिन ‘नभए पनि म पार्टीमा सक्रिय भएर जनताको सेवा गर्छु । 

 

निर्वाचन संघारमा जागिर छाड्नेमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसे पनि एक हुन उनी स्वास्थ्य सेवा तर्फको नर्सिङ अधिकृतको २० वर्षे जागिर पछि गल्कोट नगरपालिकामा नगरप्रमुखको दाबीमा छिन । निजामती कर्मचारी युनियनमा केन्द्रीय नेतृत्वमा समेत पुगेकी मन्जु २०५३ सालमा जिल्लाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट जागिर सुरु गरेकी मन्जुले २० वर्ष एउटै संस्थामा जागिर गरेकी थिईन । 

 

उनको पनि बैशाख ६ गते देखी लागुहुने गरी राजीनामा स्वीकृत भएको बताउँछिन् । जागिरै छोडेर राजनीतिमा लागेकी शर्माले आफुलाई पार्टीले उचित मुल्याङकन गर्ने बताउँछिन । 

 

त्यसैगरी, नेपाली काँग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारीले पनि शिक्षकको जागिरबाट राजीनामा दिएर बडिघाट गाउँपालिकाको अध्यक्षमा दाबेदारी दिँएकी छिन् । उनी साबिकको भीमगिठे अहिलेको बडिगाढ गाउँपालिका—७ की अधिकारीले सोही ठाउँको भीमगिठे माविमा अध्यापन गराउँदै आएकी थिइन् । २०६३ माघमा शिक्षक सेवामा स्थायी भएर प्रवेश गरेकी उनले चैत १४ गते राजीनामा दिएकी हुन् । ‘राजीनामा दिएर म पूरै राजनीतिमा लागिसकेकी छु, अब ब्याक हुन्नँ,’ उनले भनिन् । तर जिल्ला शिक्षा कार्यालयमा भने उनको राजीनामा पत्र नआएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ आचार्यले बताए । हालसम्म चर्चामा आएका महिला उम्मेदवार मध्ये शकुन्तला शर्मा र ममता देवी शर्माको मात्र राजीनामा स्वीकृत भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

 

स्थानीय चुनाव लड्न कांग्रेस जिल्ला सदस्य ज्ञानु शर्मा श्रीस पनि स्थायी शिक्षकबाट राजीनामा दिने सोचमा रहेको स्रोतको भनाइ छ । काठेखोला गाउँपालिकामा कांग्रेस एकल रुपमा निर्वाचन लड्ने अवस्थामा श्रीस उपप्रमुखको उम्मेदवार हुने पक्का जस्तै भएको स्रोतले बतायो । यी महिलाहरुमा कसले बाजी मार्ने हो त्यो त हेर्न बाँकी नै छ ।

 

त्यसैगरी राजनीति गर्नका लागि जगिरै छोडेर लाग्ने पुरुषहरु पनि धेरै छन । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले पनि निमावि शिक्षकको स्थायी जागिर छोडेर राजनीतिमा लागेका छन् । उनी पनि बागलुङ नगरपालिकाको नगर प्रमुखको दाबेदारीमा छन्। 

 

स्थानीय तह अधिकार सम्पन्न भएपछि त्यसको नेतृत्व सम्हाल्नका लागि महिलाहरुको चाहना बढेको राजनीतिक विश्लेषहरुको भनाई रहेको छ । ‘अहिले स्थानीय तह निकै शक्तिशाली भएको र ‘प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य भएकाले पनि महिला बढी आकर्षित भएको हुनसक्ने उनीहरुको भनाई रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ