arrow

राप्रपाको आन्दोलन स्थगित, चुनावी मुद्दा हिन्दुराष्ट्र नै रहने

चुनावको मूल मुद्दा हिन्दुराष्ट्र र राजसंस्था हुन्छ, कसैले भनेर हुन्छ र ?

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
RPP_central-commity.jpeg

काठमाडौं। सत्तारुढ दल राप्रपाले निर्वाचन आयोगको निर्णयविरुद्ध गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै आन्दोलन स्थगित गरिएको प्रवक्ता सुशीलकुमार श्रेष्ठले हाम्राकुरालाई जानकारी दिए।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकले यसबारे थप निर्णय गर्ने श्रेष्ठले बताएका छन् । किन स्थगित गर्नु भो ? जवाफमा उनले भने, ‘निर्वाचन आयोगले स्थानीय तह निर्वाचन पछि यस विषयमा हेरफेर गरौँला भनेको छ । निर्वाचनलाई ध्यान दिएर हामीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ ।’

निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको हिन्दुराष्ट्र र राजसंस्था भन्ने शब्द हटाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध राप्रपा नेताहरुले चेतावनीपूर्ण अभिव्यक्ति दिएपछि आयोगले वुधबार मात्रै कडा भाषामा विज्ञप्ति जारी गरेर कानुन विपरीतको काम नगर्न चेतावनी दिएको थियो । आयोगले चेतावनी दिएकै भोलिपल्ट राप्रपाले आन्दोलनका कार्यक्रम स्थगित गरेकाे हाे ।

प्रवक्ता श्रेष्ठले विज्ञप्ति नै निकालेका छन् । विज्ञप्तिमा ‘स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्य समेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ, भनिएको छ  । ‘यद्यपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाईने छ ।’

राप्रपाले संचालन गरेको र गर्ने कार्यहरु संविधान र प्रचलित कानुन अनुरुप रहेको र रहने व्यहोरा समेत उनले प्रष्ट्याएका छन् ।
चुनावको मुद्दा नै हिन्दुराष्ट्र र राजसंस्था हुन्छ, कसैले भनेर हुन्छ र ?
सांसद समेत रहेका श्रेष्ठले हाम्राकुरासँग भने, ‘कसैले भन्दैमा मुद्दा छोड्ने कुरा हुन्छ र ? हामीले चुनावी मुद्दा नै  हिन्दुराष्ट्र र राजसंस्था बनाएका छौँ ।’ स्थानीय चुनावको मूल मुद्दा नै हाम्रो त्यही नै हुन्छ । निर्वाचन आयोगले यस्ता गतिविधि नगर्न भनेर भनेको छ, फेरि अफ्ठ्यारो पर्दैन ? जवाफमा उनले भने, ‘केही अफ्ठ्यारो पर्दैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ