डिपीएल क्रिकेट: बिराटनगर फाईनल प्रवेश, रुपन्देहीले ईलिमिनेटरको बिजेता कुर्नु पर्ने
प्रकाशित २०७४ वैशाख ६ बुधबार
300
Shares
धनगढी। धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टि-२० क्रिकेट प्रतियोगितामा बिराटनगर किंग्स फाईनल प्रवेश गरेको छ। रुपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गर्दै बिराटनगर फाईनल प्रवेश गरेको हो।
बिराटनगरका बलर द्वय सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको कसिलो बलिङका सामु रुपन्देही खुलेर खेल्न सकेको थिएन। सन्दिपले ४ ओभरमा ११ रन खर्चिंदै २ विकेट लिएका थिए भने दिपेन्द्रले ४ ओभरमा १ मेडेन सहित ७ रन कर्चिंदै १ विकेट लिएका थिए।
रुपन्देहीले फाईनल प्रवेशकालागि काठमाडौं गोल्डेन्स र धनगढी चौराहा बिचको ईलिमिनिटेर खेलको बिजेतासँग खेल्ने छ।
टस जितेर पहिले ब्याटीङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो।
बिराटनगरकालागि आरिफ शेखले ४१ बलमा ३६, शरद भेषावकरले २२ बलमा २४ रन बनाएका थिए । तर सबैभन्दा आकर्षणको केन्द्र बने पवन सर्राफ, उनले ६ बलमा २ छक्काको मद्धतले १५ रन बनाएका थिए ।
रुपन्देहीका कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै दिपेश श्रेष्ठले २ विकेट लिएका थिए भने शहाब आलम, कृष्ण कार्की र विक्रम सोवले १–१ विकेट लिए ।
जवाफमा ब्याटीङ गर्न ओर्लेको रुपन्देही ९९ रनमा समेटिएको थियो।
रुपन्देहीकालागि पुष्प थापाले २२ रन बनाएका थिए भने बिक्रम सोबले २३ रनको योगदान दिएका थिए। दुइ ब्याट्सम्यान बाहेक रुपन्देहीका कुनै पनि ब्याट्सम्यानहरुले ब्यक्तिगत दोहोरो अंकको स्कोर बनाउन सकेका थिएनन्।