arrow

स्थानीय निकाय निर्वाचनः काँग्रेसबाट बेनी नगरपालिका प्रमुखमा नेत्र, मीन र हरीको नाम

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
election_local.jpeg

बाबियाचौर । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट र सिफारिस कार्यलाई तीव्र बनाएका छन् । 

नेपाली काँग्रेस बेनी नगर समितिको मङ्गलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेत्रबहादुर महत, क्याप्टेन मीनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 

उपप्रमुखका सिफारिस, वडाको अध्यक्ष तथा सदस्यका उम्मेदवार छनोटको विषयमा छलफल सुरु भएको जानकारी दिँदै म्याग्दी काँग्रेसका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले एक दुई दिनमा टुङ्गो लाग्ने बताए । 

काँग्रेसले मालिका गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुखमा बिमला रोका, अन्नपूर्णको प्रमुखमा डमबहादुर पुन, अन्नपूर्ण–६ को अध्यक्षमा कृष्णप्रसाद बरुवालको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ । 

उम्मेदवारको नाम सिफारिसका लागि आन्तरिक छलफल तीव्र बनाएका नेकपा एमालेले अन्नपूर्ण–६ मा गोकुल बरुवाल, बेनपा–१ मा टेकबहादुर रावल र ५ मा लक्ष्मण बानियालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । 

बुधबारसम्म सबै स्थानीय तहबाट उम्मेदवारको सिफारिस जिल्लामा आइपुग्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । 

बेनी नगरपालिकामा एमालेका प्रमोद श्रेष्ठ, सन्तोष रावल, देवबहादुर घले, सुरत केसी, मुना बानिया र राजकुमार थापा मेयरको उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । 

नेकपा माओवादी केन्द्रले सबै स्थानीय तह र वडाबाट सिफारिस भएर आएका उम्मेदवारको अन्तिम टुङ्गो लगाएर वैशाख ९ गते घोषणा गर्ने जनाएको छ । 

माओवादी केन्द्रमा बेनी नगरपालिकाको मेयरको उम्मेदवार बन्न कृष्णबहादुर थापा, शेरबहादुर केसी, विनोद केसी र ज्योति लामिछाने आकाङ्क्षी देखिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकामा पूर्वअध्यक्ष एकेन्द्र रावल र उपप्रमुखमा सञ्जु बरुवाल उम्मेदवारको आकाङ्क्षी रहेका छन् । 

राष्ट्रिय जनमोर्चाले फौजबहादुर कार्की विदुरलाई मेयर र भुमाकुमारी कार्की बिष्णुलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

केन्द्र विवाद रहेको रघुगङ्गाबाहेक अन्नपूर्ण, धौलागिरि, मालिका र मङ्गला गाउँपालिका तथा त्यसअन्तर्गतका वडाको उम्मेदवार सिफारिसका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । 

वडा तहका उम्मेदवार जिल्ला तहले र गाउँ तथा नगरपालिका प्रमुख, उपप्रमुखको उम्मेदवार जिल्लाको सिफारिसमा प्रदेशले छनोट गर्ने दलले जनाएका छन् । 

उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि म्याग्दीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ । 

एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वडा रहेको म्याग्दीमा ७२ मतदानस्थल र एक सय दुई मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ । 

चुनावबाट दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ