arrow

विवेकशीलले काठमाडौंको मेयरका लागि रन्जु दर्शनालाई अघि सार्‍यो

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
ranju_darsana.jpg

काठमाडौं । लामो आन्तरिक छलफल तथा परामर्शपछि विवेकशील नेपाली दलले रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको छ । मेयरको कार्यालयलाई जनताको लागि छिटो, छरितो तथा प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने लक्ष्यमा तल्लीन भई काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपना लाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उनलाई चयन गरिएको विवेकशीलले जनाएको छ । 

विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीति अन्तर्गत काठमाडौँको मेयर पदको लागि उम्मेदवार बन्न रन्जु दर्शनाले अग्रसरता व्यक्त गरेकोले उनलार्इ नै चयन गरिएको विवेकशीलले जनाएको छ। निर्णायक मण्डलको सुझावमा दलले सुन्दर काठमाडौँको सपनालाई अगाडि बढाउन उनी नै सबभन्दा उपयुक्त उम्मेदवार भएको ठहर गरी घोषणा गर्ने निर्णय गरेको थियो । 

विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले २० वर्षपछि पहिलोपल्ट स्थानीय निर्वाचनमा सहभागी हुने अवसर पाइरहेका नेपालीलाई रन्जु दर्शनाको उम्मेदवारी एक ऐतिहासिक क्षण रहेको दाबी गरे। 'हाम्रा अगाडि देखिएका स्थानीय समस्या समाधान गर्न र भावी पुस्ताले देखेका सपना साकार पार्न अब नयाँ पुस्ताको नै महत्वपूर्ण भूमिका रहनुपर्छ भन्ने हामीले महसुस गरेर नै यो उम्मेदवारी तय गरिएको हो ।'  अध्यक्ष थापाले भने 'काठमाडौँ जस्तो सहरको लागि सक्षम टोली आवश्यक पर्ने भएकोले हामी त्यसको लागि पूर्ण रुपमा तयारी गरेका छौं ।”

२१ वर्ष अगाडि काठमाडौँको अस्तव्यस्थतामा जन्मिएकी रन्जुको सपना काठमाडौँलाई कसरी सुन्दर सहर बनाउने भन्ने थियो । व्यवस्थित र समावेशी विकासको लागि आफ्नो ज्ञानको दायरा बढाउन विकास अध्ययन विषयमा स्नातक तहमा अध्ययनरत रन्जुले दलले तयार गरेको काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना तयारमा सक्रिय थिर्इन्। 

“कुनै समयमा संसारकै सुन्दर रहेको काठमाडौँलाई फेरि त्यतिकै सुन्दर बनाउने परिकल्पनामा म विश्वास गर्दछु र यो हाम्रै जीवनकालमा सम्भव छ ।' उनले भनिन् 'यस लक्ष्यलाई हासिल गर्न हामीले पाँच आधार तय गरेका छौं ।' 

काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने, धुवाँधुलोमुक्त हराभरा बनाउने, गरिखान पाउने उद्यमशील बनाउने, हिडुँहिडुँ लाग्ने झिलिमिली बनाउने र विविधता झल्कने सम्पदाको  सहर बनाउने लक्ष्य  लिर्इएको  उनले बतार्इन् । 

'यसलाई हासिल गर्न हामीले काठमाडौँलाई पैदलयात्रुमैत्री, साइकल-अपाङ्गमैत्री, पर्याप्त सार्वजनिक पार्क भएको तथा साझा, सफा, सहज सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिनेछौं। त्यस दिशामा म तथा मलाई सहयोग गर्ने विज्ञ टोली निरन्तर खटिरहनेछौं”, मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले भनिन् । 

‘हामीले तयार पारेको सपना र मार्गचित्र काठमाडौँबासीको हो जसलाई तयार पार्न हामीले यहाँका हजारौं मतदाताको सल्लाह र सुझावलाई महिनौं लगाएर संकलन गरेका थियौं । हामी सबै मिलेर नै काठमाडौँलाई संसारकै सुन्दर बनाउन सक्छौं जुन हासिल गर्न तपाईंहरूको सहयोग र समर्थन पाउने अपेक्षा राखेकी छु ।

तपाईंको सहयोगले नै काठमाडौँलाई जकडिरहेको उही पुरानो राजनीतिक सिन्डिकेटलाई तोड्न सक्छौं ’, रन्जु दर्शनाले थपिन्।  विवेकशील नेपालीले उप-मेयर, वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरूको पनि चाँडै घोषणा गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ