arrow

काँग्रेसबाट धादिङका ३ गाउँपालिकासहित अधिकांश वडा प्रमुख सर्वसम्मत सिफारिस

१३ वटै स्थानीय तहमा पहिलो बन्न धादिङ काँग्रेसको यस्तो छ तयारी

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलको चुनावी प्रचारप्रसार चुलिँदै आएको बेला धादिङ काँग्रेसले पनि १३ वटै स्थानीय तहमा पहिलो बन्नको लागि प्रचारप्रसार सुरु गरेको छ।

दुई नगरपालिका सहित कूल १३ वटा स्थानीय तह रहेको धादिङमा नेपाली काँग्रेसको तर्फबाट अहिलेसम्म तीनवटा गाउँपालिकाको प्रमुख सर्वसम्मत सिफारिस गरि सकिएको छ । धादिङ काँग्रेसका युवा नेता नरेन्द्र भट्टका अनुसार अहिलेसम्म  त्रिपुरासुन्दरी, सुन्दरी खनायोबास र नेत्रावती गाउँपालिकामा सर्वसम्मत गाउँपालिका प्रमुख सिफारिस गरिएको हो । जसमध्ये त्रिपुरासुन्दरीमा बासु तिमल्सिना, खनायोबासमा रणबहादुर तामाङ र नेत्रावती गाउँपालिकामा टेकजंग लामा सर्वसम्मत सिफारिस भएका छन् । 

 

त्यस्तैगरी, जम्मा १०४ वटा वडारहेको धादिङमा अधिकांश वडाअध्यक्षहरु सर्वसम्मत रुपमा चयन गरिएको छ भने केही वडाबाट मात्रै अध्यक्षका आकाँक्षीहरुको नाम चयनको लागि क्षेत्र तथा जिल्लामा पठाईएको छ । 

अहिले धादिङ काँग्रेस तीब्र रुपमा चुनावी प्रचारप्रसारमा लागेको छ । प्रचार समिति, आर्थिक स्रोत संकलन समिति र घोषणापत्र समिति लगायतका समितिहरु गठन गरेर अधिकभन्दा अधिक कार्यकर्ताहरुलाई सक्रिय रुपमा परिचालन गर्ने अभियान अनुरुप अहिले धादिङमा सबै समितिहरुले पूर्णता पाईसकेका छन् ।  

 

जस अन्तर्गत् धादिङको चुनाव प्रचारप्रसार समितिमा पार्टी सचिव हरिराम बुर्लाकोटीको नेतृत्वमा ११ सय ५१ सदस्यीय समिति गठन भएको छ । जसमा जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायतलाई समेटिएको छ । 

 

त्यस्तै, चुनावी प्रचारप्रसार समितिमा ७ सदस्यीय सचिवालयको पनि गठन गरिएको छ । जसमा नरेन्द्र भट्ट विकास श्रेष्ठ नवराज तिमल्सेना, कविता इटनी र कूल गुरुङ रहेका छन् । सचिवालयको उपसंयोजक प्रेस युनियनका धादिङ जिल्ला अध्यक्ष पोषनाथ अधिकारीलाई तोकिएको छ । 

 

त्यसैगरी भीम प्रसाद ढुंगानाको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ । यसमा आवश्यक संख्यामा सदस्यहरु थप्न सक्ने जिम्मा ढुंगानालाई नै दिईएको छ ।  उता, घोषणापत्र बनाउने जिम्मा भने झंक नारायण श्रेष्ठको नेतृत्वमा रहेको टोलीले गर्ने भएको छ । सो समितिमा भरत भट्ट, बद्री अर्याल, देवी अधिकारी, बद्री दाहाल, मुरारी अधिकारी, डा. प्रकात छत्कुली रहेका छन् । 

 

१३ स्थानीय तह मध्ये ११ वटा स्थानीय तहमा काँग्रेसले आम सभा पनि सम्पन्न गरिसकेको छ । बाँकी रहेको एक गाउँपालिका र एक नगरपालिकामा भने अब केही दिनमा आमसभा गरिसक्ने धादिङ काँग्रेसले जनाएको छ । ती दुई स्थानीय तहमा भने अहिले कार्यकर्ता भेला मात्रै सम्पन्न भएको छ । 

 

त्यसो त धादिङको स्थानीय तह निर्वाचनको लागि केन्द्रीय नेताहरुले पनि ठाउँठाउँमा गएर भोट माग्ने गरेका छन् । केही दिन अघि धुनिवेशी नगरपालिकामा भएको आमसभालाई काँग्रेस नेता एवं केन्द्रीय घोषणापत्र उपसमितिका संयोजक महेश आचार्यले सम्बोधन गरेका थिए । 

 

त्यस्तै, बेनीघाटमा भएको कार्यक्रममा गोविन्द भट्टराई र बैरेनीमा भएको कार्यक्रममा प्रदिप पौडेलले सम्बोधन गरेका थिए । यस अघिको संविधान सभाको दोस्रो निर्वाचनमा तीन वटै क्षेत्रमा एमालेका उम्मेदवारहरु विजयी भएको सो क्षेत्रमा यस पटक भने काँग्रेस एक भएर अघि बढ्ने तयारीमा लागेका छन् । 

 

यस अघि पनि आफ्नै कार्यकर्ताबाट अन्तर्घात् भएर चुनाव हारेको काँग्रेसले यस पटकभने तीन वटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व सिफारिस गरेसँगै यस निर्वाचनमा धादिङ काँग्रेस एक भएर निर्वाचनमा जाँदैछ भन्ने सन्देश बाहिर आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ