arrow

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुद

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
Chitwan_District.png

चितवन। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ। स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन गरी रणनीति बनाइएको हो।


प्रजिअ नारायणप्रसाद भट्टका अनुसार मतदान केन्द्र तोकिएका एक सय ६१ वटा ठाउँलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य भनी वर्गीकरण गरिएको छ। भौगोलिक हिसाबले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई अतिसंवेदनशील क्षेत्रका रुपमा लिएर सुरक्षा योजना बनाइएको हो। निर्वाचनलाई केन्द्रित गरेर पूर्वतयारी, निर्वाचन समयको तयारी र निर्वाचनपछिको तयारी योजना, कार्यनीति र रणनीति तयार गरी अहिले पूर्वतयारीको काम भइरहेको प्रजिअ भट्टले जानकारी गराए।


एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाको कामअगाडि बढाइएको छ। निर्वाचनस्थललाई बाहिरी घेरा नेपाली सेनाले दिँदैछ भने बीचमा सशस्त्र प्रहरी र भित्री घेरामा रहेर नेपाल प्रहरीले सुरक्षा दिँदैछ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भित्री घेरामा आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी पनि रहनेछन्। निर्वाचनका लागि एक हजार दुई सय ५५ जना म्यादी प्रहरी भर्ना गरी तालिम दिने काम भइरहेको उनले जानकारी दिए।


त्यसैगरी प्रहरी कर्मचारीलाई दुई दिनका निर्वाचन अनुशिक्षण तालिम पनि भइरहेको छ । जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकामा सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने तयारी गरिँदैछ भने नेपाली सेनाको टुकडीसमेत राख्ने तय भएको छ। सशस्त्रको बेस क्याम्पमा ६० का दरले र नेपाली सेनाको टुकडीमा ३० जनाको दरले रहनेछन्।


प्रहरी प्रमुख थापाका अनुसार राजनीतिक कार्यक्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन जाँचमा कडाइ गरिएको छ। देशभर निर्वाचन सामग्री चितवन हुँदै जाने हुँदा त्यसलाई पनि सुरक्षा दिने प्रबन्ध मिलाइएको छ। मदिरा नियन्त्रण, फरार अभियुक्त पक्राउलगायत सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिइएको थापाले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ