डिपीएल क्रिकेट: उद्घाटन खेलमा काठमाडौंको कमजोर प्रदर्शन, अत्तरिया बिजयी
प्रकाशित २०७३ चैत २८ सोमबार
948
Shares
धनगढी। धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट कैलालीको धनगढीमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अत्तरियाले काठमाडौंलाई ४० रनले पराजित गरेको छ।
पहिलो खेल सिवाईसी अत्तरिया र काठमाडौं गोलडेन्सका बिच भएको थियो। टस जितेर फिल्डिङ रोजेको काठमाडौंले अत्तरियाबिरुद्ध कसिलो बलिङ गर्न सकेन। अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १४६ रन बनाएको थियो।
योगेन्द्र सिंह कार्कीले आकर्षक तथा प्रतियोगिताको पहिलो अर्धसतक बनाउने क्रममा ५७ रन जोडेका थिए। उनले ४१ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए। ज्ञानेन्द्र कुँवरले २३ बलमा नटआउट ३४ रन बनाएका थिए। काठमाडौंका सोमपाल कामीले २ विकेट लिएका थिए। अत्तरियाको नेतृत्व ज्ञानेन्द्र मल्लले तथा काठमाडौंको नेतृत्व बसन्त रेग्मीले गरिरहेका छन्।
जवाफमा १४७ रनको लक्ष्य पच्छ्याउन उत्रेको काठमाडौं १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटिएको थियो। काठमाडौंकालागि सोमपाल कामीले सार्वाधिक ४० रन बनाएका थिए। ३८ बल खेल्ने क्रममा सोमपालले १ छक्का र ४ चौका प्रहार गरेका थिए। त्सयैगरि सन्तोष भट्टले ३१ रनको योगदान दिएका थिए। सोमपाल र सन्तोष बाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
अत्तरियाका अविनास बोहोराले ४ विकेट लिएका थिए। उनले ३.४ ओभरमा ११ रन खर्चिंदै ४ विकेट हात पारेका थिए। त्यसैगरि बिनोद लामाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएाक थिए।