arrow

स्थानीय निर्वाचनमा काँग्रेसले जिते बृद्धभत्ता र विधवा भत्ता दोब्बर पार्ने घोषणा

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
congres_attariya_bhela.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय  निर्वाचनमा नेपाली काँग्रेसले जिते बृद्धभत्ता, असहाय भत्ता, विधवा भत्ता लगायतका सवैखाले सामाजिक भत्ता दोब्बर बनाउने घोषणा गरेका छन् ।  सुदूरपश्चिमको प्रमुख प्रवेशद्वार अत्तरीयाबाट नेपाली कांग्रेसले शुरु गरेको देशव्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले यस्तो घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसले नै देशमा विकासको गति दिएकोले अझै पनि कांग्रेसले नै विकास गर्ने उनले दाबी गरे । देशको विकास राजनीतिक स्थायित्वका लागि निर्बाचन नै उत्तम बिकल्प भएकाले निर्धारित मिति बैशाख ३१ गते निर्बाचन हुने बताए ।


पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रतिपक्षी दल एमाले हिमाल पहाड र मधेशलाइ फुटाउने गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

एमाले जस्तो जिम्मेवार पार्टीले देशका विभिन्न जातजाती र भाषाभाषीलाई फुटाउन खोजेको आरोप लगाउँदै सभापति देउवाले हिमाल र पहाडले मात्र देश नबन्ने बताए । देश निर्माणमा देशका सवै जातजाती र भाषाभाषीको उत्तिकै योगदान रहेको उनको बुझाई थियो ।

राजनीतिका नाममा एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै सभापति देउवाले प्रतिपक्षी एमालेका नेता केपी ओलीको नाम लिएरै उखान टुक्काले देश बन्ने भए कलाकारलाइ पार्टीको अध्यक्ष बनाए राम्रो हुने र ओलीभन्दा राम्रा कलाकार देशमा धेरै रहेको बताए ।

नेपालको राष्टिर्य मेलमिलाप मात्रै उत्तम उपाय भएकाले आन्तरिक मेलमेलापबिना राष्ट्र बलियो नहुने बताए । हरेक क्षेत्र, वर्ग जातजातिका अधिकार स्थापित गर्न आफूहरु प्रतिबद्ध रहेकोले त्यसका कुनै शंका नगर्न समेत उनले आग्रह गरे ।

नेपाली काङग्रेसले मात्रै मुलुकको विकास, स्थायित्व, परिवर्तन गर्न सक्ने भएकाले स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका छन् । नेपालको विकासमा नेपाली काँग्रेसको महत्वपुर्ण भुमिका रहेकोले नेपाली जनता नेपाली काँगेसको पक्षमा रहेको उनले बताएका छन् ।

कैलाली कञ्चनपुरमा बिभिन्न समुदायका जातजातिका व्यक्तिहरु रहेकोले सबैले मिलेर बस्नुको विकल्प नभएको सभापति देउवाले बताएका छन् । कैलाली कञ्चनपुरमा रहेका आदिबासी जनजातिलाई विशेष अधिकार दिएर भएपनि उनीहरुको अधिकार सुनिश्चित गरिने बताएका छन् ।

देशलाई एकसूत्रमा बाध्न सबै एक भएर अगाडि बढ्नु पर्ने र संबिधानको कार्यान्वयसँगै सकिएर जाने उनले दाबी गरेका छन् । नेपालको जुनसुकै ठाउँमा बसेपनि पहिला मधेसी, पहाडी भन्दापनि नेपाली भएकोले सबैले नेपालको बारेमा सोच्नुपर्ने उनको भनाई छ ।
त्यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले प्रतिपक्षीको भूमिका भन्दा देशमा द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको बताएका छन् । कम्युनिष्टहरु समस्या जन्माउने भएकाले समस्याको समाधान गर्न नसक्ने भन्दै उनले हरेक समस्याको समाधान नेपाली कांग्रेसले मात्रै दिन सक्ने बताए । समाजमा अनेक प्रपञ्च रचेर जातीय नारा दिएर प्रत्येक समुदायलाई भड्काउने प्रयास गरिएको भन्दै उनले अब त्यसको समाधान कांग्रेसले मात्रै गर्ने दाबी गरेका छन् ।

केही पार्टीहरुले राष्ट्रबादको भ्रम जनतामा छरेको भन्दै उनले राष्ट्रवादको परिभाषा सही तरिकाले सिकेर आउन समेत आग्रह गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ