arrow

स्थानीय तहको चुनावमा केन्द्रीय नेता लड्ने तयारी

logo
रमेशकुमार वली
प्रकाशित २०७३ चैत २६ शनिबार
salyan_Distric_map.png

सल्यान । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको छ ।

जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तहमा आगामी बैशाख ३१ गते चुनाव हुFदैछ । चोकचोक र चियापसलमा उम्मेदवारको चर्चापरिचर्चाले हुन थालेका छन्। अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए। दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको छ ।

कहाँ को को आकांक्षी : शारदा नगरपालिका

जिल्लाको सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चौंथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट प्रमुख पदको उम्मेदवारका लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । नेपाली काँग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् ।

अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ ।

माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई नगरप्रमुखको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले नगरप्रमुखमा नेवार समुदायका व्यक्तिलाई अघि सारेर खलङ्गामा रहेको नेवार समुदाय भोट आफूतिर तान्न खोजिरहेको देखिन्छ ।

बागचौर नगरपालिका

स्रोतको हिसाबले धनि मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइँको नगरपालिका बनेको छ । यस नगरपालिकाको प्रमुख पदमा माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमालेका पूर्वजिल्ला अध्यक्ष लगायतको चर्चा छ । नेपाली काँग्रेसको तर्फबाट एकराज डिसि, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । नेकपा एमालेको तर्फबाट पार्टीका पूर्वअध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ ।

माओवादी केन्द्रकोतर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली र ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रापको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।

वनगाड कुपिन्डे नगरपालिका

वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच नगरप्रमुख पदमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेपाली काँग्रेसबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् ।

सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेद्वार

दार्मा गाउँपालिकामा माओवादी केन्द्रकातर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, काँग्रेसबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आंकाक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्रकोतर्फबाट पूर्व सभासद उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दीलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् ।

यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा काँग्रेसबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादी केन्द्रबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा काँग्रेसबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीउसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसीले आकांक्षी देखिएका छन् ।

यस गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसका तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी तथा राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ ।

यस्तै कालिमाटी गाउँपालिकामा काँग्रेसबाट गणेश केसी, एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै ढोरचौ गाउँपालिकामा एमालेकोतर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, काँग्रेसकोतर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रकोतर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाकोतर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् ।

त्यस्तै छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्वजिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, काँग्रेसबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ ।

आगामी स्थानीय निर्वाचनका लागि जिल्लामा १५ वटा राजनीतिक दल दर्ता गरिएको भए पनि काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीले चुनावी क्रियाकलाप तीव्र पारेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ