बैंकक जानु अघि ओलीले भने–एकै चरणमा निर्वाचन हुन्छ, दुई चरणको हल्ला मात्रै
प्रकाशित २०७३ चैत २६ शनिबार
715
Shares
काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन्। आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जानुअघि सञ्चारकर्मीसँग ओलीले भने, ‘‘स्थानीय तहको निर्वाचन एकैचरणमा हुन्छ, दुई चरणको हल्ला मात्र हो।’ सत्ताधारीहरुले निर्वाचन दुई चरणमा गर्ने भनेर हल्ला गरिरहेका छन्। अध्यक्ष ओलीले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरे।
काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा सहभागि हुने निश्चित भए दुई चरणमा स्थानीय तहको निर्वाचन गराउन सकिने बताइरहेका छन्।ओलीले चिकित्सकको सल्लाह अनुसार नै आफू स्वास्थ्य उपचारका लागि बैंकक जान लागेको बताए।
अध्यक्ष ओलीले मृगौला प्रत्यारोहणपछि बैंकक गएर नियमित उपचार गराउँदै आएका छन्। आफनो नियमित स्वास्थ्य उपचारका लागि अध्यक्ष ओली केही दिन बैंकक बस्ने एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।