arrow

काँग्रेसको गढमा मौका खोज्दै एमाले, काँग्रेसले सही बाटो नरोजे चौका हान्ने दाउ !

चर्चामा कुन् दलबाट को को ?

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
ghorahi_submetropolitan_city_map.png

काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारका आकांक्षीहरुको तयारी पनि व्यापक रुपमा चलिरहेको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा पार्टीगत रुपमा उम्मेदवारीको आकांक्षा देखाउनेहरुको होडबाजी पनि सुरु भईसकेको छ । 
 
दाङमा रहेका दुर्इ उपमहानगरपालिका एक नगरपालिका र ७ वटा गाउँपालिकामा चुनावी चर्चा चुलिन थालिसकेको छ । दाङमा स्थानीय तहको निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्छ भन्नेबारे स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि आम नागरिक र स्थानीयस्तरमा मतदाताहरुका लागि पनि चासो बढ्न थालेको छ । 
 
विभिन्न पदहरुमा उम्मेदवारी दिनेहरुको चाहनासँगै उम्मेदवारका आकांक्षीहरुबीच समेत होडबाजी चल्न थालेको छ । मुख्य पार्टीहरु विशेषगरी दाङका विभिन्न उप तथा नगरपालिकाहरुमा बनाउने उम्मेदवारको बारेमा चर्चा चल्न थालेसँगै आकाँक्षीहरु समेत भित्रभित्रै आफ्नो तयारीमा व्यस्त छन्।  
 
१८ बर्ष देखि हुन नसकेको चुनावमा धेरै आकाँक्षी हुन सक्ने देखिएपछि दाङ काँग्रेसका नेता कार्यकर्ताहरुमाझ काँग्रेसको गढको रुपमा रहेको घोराही नगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्नेमा गृहकार्य शुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा काँग्रेस विजयी भएको दाङमा स्थानीय तहमा पनि प्राय: काँग्रेसको नै पकड रहेको बतार्इन्छ । तर, साे क्षेत्रमा पनि काँग्रेसले गल्ती गरेको खण्डमा चाैका हान्ने दाउमा भने एमाले रहेको छ । 

 

यसैबीच दाङको घोराही नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट  भरत बहादुर न्यौपानेको नाम चर्चामा रहेको छ । लामो समयसम्म राजनीतिमा रहेका माओवादी द्वन्द्वको समयमा समेत पटकपटक माओबादी आक्रमणमा परेर पनि बाँच्न सफल भएका न्यौपानेको नाम अहिले अरुको भन्दा बढी नै चर्चामा छ ।

 

पूख्यौलीरुपमा समेत काँग्रेस रहेका उनका बुबा जुद्द बहादुर न्यौपाने ०१५ सालको निर्वाचनमा एमपी निर्वाचित र ०५०मा सांसद् पनि भएकोले अहिले उनको विरासत थाम्न आएका उनका छोरा भरतले टिकट पाउने सम्भावना रहेको हो । न्यौपाने आफैं पनि ०४८ सालदेखि महासमिति सदस्य, क्षेत्रीय सभापति लगायत पदमा विजयी हुँदै आएका छन् । उनका लागि २०५६ मा ०६४ र ०७० मा क्षेत्रबाट सांसद्को लागि सिफारिस गरिएको भएपनि उनले टिकट पाएनन् । 

 

त्यस्तै, काँग्रेसबाटै मेयरको लागि आकांक्षा देखाउनेहरुमा अर्जुन श्रेष्ठ पनि चर्चित अनुहार हुन् । ०५४ सालमा उपमेयर बनिसकेका उनी पनि अहिलेको स्थानीय निर्वाचनमा मेयरको टिकट पाउन सक्ने सम्भावित उम्मेदवार मानिन्छ । उनीहरुबाहेक पनि अहिलेका पार्टीका क्षेत्रीय सभापति भूपबहादुर डांगीको पनि नाम चर्चामा छ । वृकेश्वरी गौतम, पूर्व महासमिति सदस्य रण ब. पछाईँ लगायतले मेयरको लागि उम्मेदवारी दिन आकांक्षा देखाईरहेका छन् । 

 

त्यस्तै, व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको तर्फबाट पूर्व जिल्ला अध्यक्ष नरुलाल चौधरीको नाम चर्चामा छ । उनी एमालेको तर्फबाट सशक्त उम्मेदवार रहेकोले उनले टिकट पाएको खण्डमा काँग्रेसले समेत जित्नको लागि ठूलै कसरत गर्नुपर्ने देखिएको छ । सो उपमहानगरपालिकामा चौधरीहरुको बसोबास पनि धेरै रहेकोले पनि उनको सम्भावना बढी रहेको जानकारहरुको दाबी छ । त्यसैले पनि जीत आफ्नो पक्षमा पार्नको लागि राम्राे उम्मेदवार छान्नै पर्ने दबाब काँग्रेसमाथि छ । 

 

उनका अलावा २०४९ सालको स्थानीय निकायको निर्वाचनमा मेयर बनिसकेका अमर डाँगीले पनि फेरि मेयरकै लागि आकांक्षा देखाएका छन् । सांसद्को टिकट पाएर पनि सांसद् बन्न नसकेका लक्ष्मण आचार्य पनि यस पटक उपमहानगरपालिकाको मेयर बन्न लालायित रहेका छन् । यो उपमहानगरपालिका बनेपछिको पहिलो निर्वाचन भएकोले पनि यसमा धेरैको आकांक्षा रहेको हो । 

 

त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओबादी केन्द्रबाट निर्मल आचार्यको नाम चर्चामा रहेको छ । उनले ०७० सालको निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट सांसद्को टिकट पनि पाएका थिए । यसरी जिल्लाको सबै क्षेत्रमा नेपाली काँग्रेसले जितेको दाङमा  स्थानीय निर्वाचनमा भने कसले बाजी मार्ला भन्ने कुरा चर्चाको विषय बनेको छ । यसमा काँग्रेसले बलियो उम्मेदवार नउठाए बाजी मार्ने दाउमा एमाले कुरेर बसिरहेको स्थानीयले बताउने गरेका छन् । अहिले एमालेले पनि आफ्नो पकड बढाउँदै लगेको स्थानीयहरुको बुझाई रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ