arrow

निर्वाचन आयोगले मतदाता सूची फाइनल गर्यो, काठमाडौंलाई मोरङले उछिन्यो

१ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता, तेस्रो लिङ्गी १४३

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
Election_local_2074.jpeg
काठमाडौं । निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली टुङ्गो लगाएको छ । आयोगको आइतबार बसेको बैठकले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको हो ।
 
कुल मतदातामा पुरुष ७० लाख ६९ हजार ७ सय १४ रहेका छन् । त्यसैगरी महिला संख्या ६९ लाख ८४ हजार ६ सय २५ रहेको छ । तेस्रो लिङ्गी मतदाताको संख्या भने १ सय ४३ रहेको छ ।
 
२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।
 
आयोगले सबैभन्दा बढी मतदाता मोरङमा रहेको जनाएको छ । मोरङमा ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् । मोरङले काठमाडौंलाई उछिनेको हो ।
 
काठमाडौंमा ५ लाख ५९ हजार ४ सय मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मनाङमा जम्मा ५ हजार ९५ मतदाता रहेका छन् ।
 
मतदााता नामावली स्वीकृत भएसँगै फोटोसहितको परिचयपत्र छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ भइरहेको छ ।
 
मतदाता नामावली भने मतदान केन्द्र पुननिर्धारणको टुंगो लागेपछिमात्र सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । 
 
मधेसी दलहरुले भने तराईमा एक लाख मतदाताको नाम थप्नुपर्ने बताइरहेका बेलामा निर्वाचन आयोगले मतदाताको फाइनल संख्या सार्वजनिक गरेको हो ।
 
दलीय सहमति भयो भने यो संख्यामा फेरि थप हुन सक्ने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ