arrow

काँग्रेस महामन्त्रीको चुनावी क्षेत्रमा क-कसले दिँदैछन् काँग्रेसलार्इ नै टक्कर ?

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७३ चैत २० आइतबार
three-party-news.png
कावासोती (नवलपरासी) । नवलपरासीको देबचुली नगरपालिकामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेयर बन्न राजनीतिक पार्टीका नेताहरुको दौडधुप सुरु भएको छ । काँग्रेस महामन्त्री डा. शशांक कोईरालाको निर्वाचन क्षेत्रमा पर्ने जिल्लाकैं महत्वपुर्ण मध्येको एक देबचुली साविकका चारवटा गाविस गाभिएर बनेको नगरपालिका हो । साविकका प्रगतिनगर, देबचुली, दिव्यपुरी र रजहर गाविस मिलेर देबचुली गाविस बनेको हो । देबचुली नगरपालिमा १७ वडा छन् । 
 
मेयर र उपमेयरका आकांक्षीहरु राजधानी काठमाडौंदेखि जिल्ला तहका नेताहरुको घरदैंलोमा पुगेर आफ्नो पक्षमा लविङ्ग गरिरहेका छन् । काँग्रेस र एमालेमा आकांक्षीहरुको लर्को नै छ भने माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुमा पनि आकांक्षीहरुको सूची लामो छ ।  देबचुली नगरपालिकामा मेयर, उपमेयर, १७ वडा अध्यक्ष र ६८ वडा सदस्य गरी कुल ८७ जना जनप्रतिनिधी चयन हुनेछन् । जसमा मेयर या उपमेयर मध्ये एकजना महिला गरी कम्तिमा ३५ जना महिला अनिवार्य निर्वाचित हुनेछन् । जसमा दलित महिलाको संख्या कम्तिमा १७ हुनेछ । 
 
काँग्रेसका आकांक्षी  
काग्रेसबाट मेयरको उम्मेदवारका लागि देवीप्रसाद खनाल र पूर्णकुमार श्रेष्ठको नाम बढी चर्चामा छ । कार्यकर्ताहरु माझ भद्र र शालिन नेताका रुपमा परिचित खनाल साविक प्रगतिनगर गाविस वडा ३ का पुर्व वडाअध्यक्ष हुन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा खनाल वडा अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी द्धन्दकालमा उनी प्रगतिनगरबाट काठमाडौं बिस्थापित भएका थिए । खनाल पार्टी प्रतिबन्धित भएकैं बेलादेखि काँग्रेसमा क्रियाशील छन् ।
 
मेयरका अर्का आकांक्षी नेपाली काग्रेस देबचुली नगर समितिका बर्तमान सभापति पुर्णकुमार श्रेष्ठ पनि पार्टी प्रतिबन्धित भएकैं बेलादेखि पार्टीमा क्रियाशील छन् । उनी पार्टीको बिभिन्न पदमा रहेर काम गर्दे आएका व्यक्ति हुन् । काँग्रेसबाट पूर्व नगरसभापति डिल्लीराम कडरीया, युवा व्यवसायी संजयगोविन्द श्रेष्ठ, धर्म वस्याल पनि मेयर पदका आकांक्षी हुन् । काँग्रेस महामन्त्री डा. कोइरालाको निर्वाचन क्षेत्र भएकाले यस नगरपालिकामा शशांक निकट नेताले टिकट पाउन सक्ने काग्रेस कार्यकर्ताहरु बताउछन् । 
 
यस्तैं नेपाली काग्रेस संसदीय दलका पूर्व सचिव महेन्द्रध्वज जि.सि.को पनि यस नगरपालिकामा राम्रै पकड छ । उनी पनि आफु निकटकालाई टिकट दिलाउन लागिपरेका छन् । 
 
एमालेका आकांक्षी 
नेकपा एमालेबाट देबचुली नगरपालिकाको मेयर बन्नका लागि रामप्रसाद मरासिनी, तिलप्रसाद पाठक, तिलप्रसाद काफ्ले, होमनाथ जैंसी, खिमानन्द भुषाल, हरि न्यौपाने लगायतका नेताहरुको आकांक्षा देखिएको छ । टिकट लिनका लागि उनीहरु आ आफ्नो पक्षमा लविङ्गमा छन् । आकांक्षी मध्ये जैंसी नेकपा एमालेका क्षेत्र नम्बर १ का पुर्व अध्यक्ष हुन्, मरासिनि एमालेको नवलपुर जिल्ला संगठन कमिटिका सदस्य हुन् । उनी भिमसेन आर्दश उच्च माविका पूर्वप्रधानाध्यापक समेत हुन् । 
 
यस्तैं पाठक २०५४मा साविक दिव्यपुरी गाविसका निर्वाचित अध्यक्ष हुन् । एमालेका मेयरका आकांक्षी खिमानन्द भुषाल एमालेको नवलपुर संगठन कमिटिका सल्लाहकार हुन् , सेवा निवृत शिक्षक उनी शिक्षक युनियनका पूर्वजिल्ला सचिव समेत हुन् । यस्तैं मेयरका अर्का आकांक्षी हरि न्यौंपाने केही महिना अघिमात्र माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् । हाल उनी नेकपा एमालेको प्रदेश नम्बर ४ का सदस्य हुन् । 
 
माओवादी केन्द्रमा यस्ता छन् आकांक्षी 
सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रबाट देबचुली नगरपालिकामा सत्यनारायण भुषाल, सुर्य न्यौपाने र हुकुम सुवेदीको नाम चर्चामा छ । भुषाल र न्यौंपाने माओवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य हुन्, सुवेदी देबचुली नगर समितिका अध्यक्ष हुन् । माओवादी केन्द्रले घरदैंलो अभियान कार्यकर्ता भेला लगायतका कार्यक्रमलाई तिव्रता दिएको माओवादी केन्द्र देबचुली नगर ईन्चार्ज बालकृष्ण रानाभाटले बताए । 
 
निर्वाचन कार्यालय नवलपरासीको रेकर्डमा दबेचुली नगरपालिकामा २७ हजार १ सय २१ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या १२ हजार ५ सय ७८ र महिला मतदाताको संख्या १४ हजार ५ सय ४३ रहेका छन् । यो २०७३ फागुन ९ गते सम्म १८ बर्ष पुरा भएका नागरिकहरुको विवरण हो  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ