मुख्य दलको बैठकमा एमालेको चेतावनी : संशोधनले निर्वाचन नै विथोलिन्छ
प्रकाशित २०७३ चैत ७ सोमबार
672
Shares
काठमाडौं । मुख्य विपक्षी दल एमालेले सरकारलाई संविधान संशोधन विधेयक थाति राखेर अघि बढ्न भन्दै त्यसो नभए स्थानीय तहको निर्वाचन विथोलिने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बालुवाटारमा बोलाएको सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकमा विपक्षी एमालेले संविधान संशोधन प्रस्ताव थाति नराखे निर्वाचन विथोलिने भन्दै सचेत गराएको हो ।
दलीय छलफलमा एमाले अध्यक्ष केपी ओलीले तोकिएकै मितिमा निर्वाचन गर्न संविधान संशोधन प्रस्तावलाई थाति राखेर अघि बढ्नु पर्नेमा जोड दिए । ओलीको भनाई उदृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘निर्वाचन गर्नुको विकल्प छैन ।’ संविधान संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन गरिनु पर्ने पार्टीको अडान कायमै रहेको नेता नेम्बाङले बताए ।
प्रधानमन्त्री दाहालले निर्वाचनमा मधेशी मोर्चालाई सहभागि गराउने विषयमा भइरहेको छलफलबारे बोल्दै आवश्यक सुझाव दिन एमालेसँग अनुरोध गरे । प्रधानमन्त्री दाहालले बैशाख ३१ गतेलाई तोकिएको स्थानीय तह निर्वाचन कुनै पनि हालतमा नरोकिने बताए । निर्वाचन समयमै हुन्छ, प्रधानमन्त्रीले भने, ‘त्यसमा दायाँबायाँ नहुने अडान मैले मधेशी मोर्चाका नेताहरुलाई राखेको छु ।’
प्रधानमन्त्री दाहालले मधेशी मोर्चाको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न अपरान्ह पनि मुख्य विपक्षी एमालेसहितको बैठक बोलाएका छन् ।