बहुमत नपुग्ने भएपछि बागमतीमा नयाँ सरकार गठनका लागि दलहरूको कसरत
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
471
Shares
काठमाडौं । नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको भेटघाट र छलफल तीव्र बनेको छ।
एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको बहुमत आवश्यक पर्छ। हाल प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ सिट रहेका छन्।
केन्द्रमा सत्ता गठबन्धनको सहमति भए पनि बागमती प्रदेशमा एमाले र नेकपाको मात्र संख्याले बहुमत पुग्ने अवस्था छैन। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार गठनका लागि एमालेले नेकपासहित साझेदारीको सम्भावना रहेका अन्य दलहरूसँग निरन्तर छलफल गरिरहेको बताएका छन्।
यसैबीच, प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल अघि बढाएको छ। कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनका अनुसार पार्टीले नयाँ सरकार गठनका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा र हाम्रो नेपाली पार्टीसँग छलफल गरिरहेको छ।