इरानको व्यापारिक जहाजमाथि युक्रेनले आक्रमण गरेको आरोप, जवाफ दिने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
190
Shares
काठमाडौँ । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै यस घटनाको कडा जवाफ दिने चेतावनी दिएको छ। शनिबार भएको उक्त आक्रमणमा परी एक जना नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको इरानले जनाएको छ। रुस–युक्रेन युद्धको अन्तर्राष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला यो घटना बाहिर आएको हो।
यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग हुने जहाजहरूलाई लक्षित गरी क्यास्पियन सागरमा लामो दूरीको सफल आक्रमण गरिएको बताएका थिए। युक्रेनको गुप्तचर निकाय (एसबीयू) ले पनि टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको पुष्टी गरेको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार आक्रमणमा सैन्य सामग्री बोक्ने जहाजका साथै एउटा युद्धपोतलाई पनि लक्षित गरिएको थियो।
इरानको सरकारी समाचार संस्था इरनाका अनुसार, इरानी विदेश मन्त्रालयले शनिबार बिहान भएको आक्रमणमा जहाजमा विस्फोट हुँदा एक नाविकको ज्यान गएको र एक जना घाइते भएको जनाएको छ। रुस–युक्रेन युद्धमा आफूले कहिल्यै हस्तक्षेप नगरेको दाबी गर्दै इरानले आफ्नो व्यापारिक जहाजमाथिको यस आक्रमणको तीव्र विरोध गरेको छ।
घटनालगत्तै इरानी विदेश मन्त्रालयले यसलाई ‘शत्रुतापूर्ण र आपराधिक कार्य’को संज्ञा दिँदै तेहरानस्थित युक्रेनी कार्यवाहक राजदूतलाई बोलाई कडा आपत्ति जनाएको छ। साथै, इरानी विदेशमन्त्री अब्बास अराघचीले युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा कालाससँग फोनमा कुराकानी गर्दै यस आक्रमणको विरोधमा ईयू र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट कडा प्रतिक्रियाको माग गर्नुभएको इरनाले जनाएको छ।