काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको दाबी गरे।
अमेरिकासँग दुईवटा विकल्प रहेको स्पष्ट पार्दै उनले वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गरे। सैन्य रूपमा आफूहरू पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा रहेको भए पनि हाल वार्ता जारी रहेकाले यसबाट निस्कने परिणामप्रति ध्यान केन्द्रित रहेको उनको भनाइ थियो। ह्वाइट हाउसमा उच्च सल्लाहकारहरूसँग इरानसँगको द्वन्द्वबारे छलफल गरेलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो।
सीएनएनको रिपोर्टअनुसार ट्रम्पले इरानविरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गरेका थिए। पछिल्लो समय इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको सन्दर्भमा आएका यी कूटनीतिक प्रयासले ठोस परिणाम दिन्छन् वा सैन्य द्वन्द्व थप तीव्र हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।