डा. गोविन्द केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
155
Shares
काठमाडौँ। पाँच बुँदे माग राख्दै बिहीबारदेखि २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो देखाएकी छन्।
मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गर्दै डा. केसीको उपचार प्रभावकारी बनाउन, आवश्यक समन्वय गर्न तथा उपचार व्यवस्थापनलाई सुदृढ बनाउन निर्देशन दिएकी हुन्।
यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गर्दै डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।
मन्त्रालयका अनुसार डा. केसीको वर्तमान स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई लामो समय अस्पतालमै राख्नु उपयुक्त नहुन सक्ने चिकित्सकहरूको सुझावपछि आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ। मन्त्रालयले उपचार अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
डा. केसीलाई धनगढी उपमहानगरपालिका-१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सारिएको हो।
यसैबीच, डा. केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।