नयाँ दिल्ली । पेपर चुहावटको विरुद्धमा अनशन बसेका सोनम वाङचुकले २७ औँ दिनमा आफ्नो अनशन तोडेका छन्। केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डा र जितेन्द्र सिंह शुक्रबार बिहान करिब पौने १ बजेतिर गुरुग्रामको मेदान्त अस्पतालमा पुगेका थिए । नड्डाले वाङचुकलाई जुस दिएर अनशन तोड्न मद्दत गरेका हुन् ।
वाङचुकले अनसन तोडेपछि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले मलाई अनशन अन्त्य गर्न अपील गरेका थिए। लामो वार्ता र केही सर्तहरूमा सहमति भएपछि साथै देशमा हिंसाको सम्भावनालाई विचार गर्दै मैले यो निर्णय लिएको छु।'
वाङचुकले अनशन तोड्नका लागि दुई सर्तहरू राखेका थिए । सरकारले लिखित आश्वासन दिएको छ कि यदि विद्यार्थीहरूले हिंसामा संलग्न नभएमा, उनीहरू विरुद्ध लगाइएका मुद्दाहरू फिर्ता लिइनेछ। त्यस्तै सरकारले आत्महत्या गर्नेहरूका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने विचार गर्ने लिखित आश्वासन पनि दिएको छ।
वाङचुकले गत जुन २८ मा ककरोच जनता पार्टी सीजेपीको आयोजनामा भएको विरोध प्रदर्शनका क्रममा अनिश्चितकालीन भोक हडताल शुरू गरेका थिए ।
उनको अवस्था बिग्रँदै गएपछि उनलाई जुलाई १८ मा सफदरजंग अस्पताल र त्यसपछि जुलाई २१ मा मेदान्त अस्पतालमा सारिएको थियो। उनी एनईईटी पेपर चुहावट प्रकरणको सम्बन्धमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए।
ककरोज जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले वाङचुकको अनशन अन्त्य भएकोमा खुशी व्यक्त गरे ।