राजनीति नाफा–घाटाको हिसाब होइन, जनताको सेवा हुनुपर्छ: नेता आङदेम्बे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
404
Shares
काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।
४४औँ बीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताएका हुन्।
आङदेम्बेले कांग्रेसभित्र पछिल्लो समय विचार र बहसभन्दा आरोप-प्रत्यारोप तथा कटाक्षको राजनीति बढ्दै गएको संकेत गर्दै संस्थापन इतर पक्षले बुधबार आयोजना गरेको कार्यक्रममा व्यक्त भनाइप्रति पनि असन्तुष्टि जनाए।
उनले यस्ता प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए।
उनले संसदको अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै अहिले निर्णयहरू पर्याप्त तर्क र विवेकबिनै हुने गरेको बताए।
हतारमा निर्णय गर्ने र पछि सच्याउनुपर्ने अवस्था दोहोरिनु संसदको कमजोर कार्यशैलीको उदाहरण भएको उनको भनाइ थियो।
आङदेम्बेले राजनीति नाफा-घाटाको हिसाब गर्ने व्यवसाय नभई जनताको सेवाको माध्यम हुनुपर्नेमा जोड दिए। विगतमा राजनीति व्यक्तिगत स्वार्थ, लाभ र आफ्ना निकटस्थलाई प्राथमिकता दिने संस्कारमा चलेको उल्लेख गर्दै अब त्यसलाई परिवर्तन गर्नु वर्तमान नेतृत्वको मुख्य जिम्मेवारी भएको बताए।
उनले इमानदार कार्यकर्ता, श्रमिक, किसान र निमुखा नागरिकलाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने धारणा राखे। राजनीति लगानीको प्रतिफल खोज्ने माध्यम नभई समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने अभियान हुनुपर्ने उनको भनाइ थियो।
बीपी कोइरालाको स्मरण केवल तस्बिरमा माल्यार्पण गरेर मात्रै नहुने उल्लेख गर्दै आङदेम्बेले कांग्रेसलाई बीपीको आदर्श, विचार, मर्यादा र लोकतान्त्रिक संस्कारअनुसार अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
विवेक, तर्क, इमानदारिता र निष्ठालाई पुनः स्थापित गर्न नयाँ अभियान आवश्यक रहेको उनको जोड थियो।