काभा भलिबलमा नेपालको दोस्रो हार, कठिन बन्दै सेमिफाइनल यात्रा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
560
Shares
काठमाडौँ। पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। श्रीलङ्कासँग ३-२ सेटले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा थप चुनौतीपूर्ण बनेको छ।
नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारे पनि त्यसलाई जितमा रूपान्तरण गर्न सकेन। श्रीलङ्काले पहिलो, चौथो र निर्णायक पाँचौँ सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो। यसअघि उद्घाटन खेलमा पनि नेपाल काजकस्तानसँग ३-२ को रोमाञ्चक सेटमा पराजित भएको थियो।
दुवै खेलको नतिजाले नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न सक्ने क्षमता देखाएको छ। तर निर्णायक क्षणमा दबाब व्यवस्थापन र खेल समाप्त गर्ने क्षमता कमजोर देखिँदा लगातार हार भोग्नुपरेको छ।
पाँच सेटसम्म खेललाई लैजानु सकारात्मक पक्ष भए पनि अन्तिम सेटमा निरन्तर लय कायम राख्न नसक्नु टोलीका लागि चिन्ताको विषय बनेको छ।
राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्। त्यसैले नेपालका लागि अब बाँकी प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ। अबको खेलमा जित निकाल्न नसके सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बन्न सक्छ।
नेपालले पछिल्ला वर्षहरूमा दक्षिण एसियाली स्तरमा उल्लेखनीय प्रगति गरे पनि मध्य एसियाली बलिया टोलीविरुद्ध अनुभव र स्थिर प्रदर्शनको अभाव अझै देखिएको छ। यद्यपि लगातार दुई खेलमा बलिया प्रतिद्वन्द्वीलाई पाँच सेटसम्म धकेल्नु टोलीको आत्मविश्वासका लागि सकारात्मक संकेत हो।
अब प्रशिक्षक टोलीले विशेषगरी निर्णायक सेटमा हुने सामान्य त्रुटि, रिसिभ र आक्रमणको प्रभावकारितामा सुधार गर्न सके नेपालले बाँकी खेलमा पुनरागमन गर्ने आधार अझै बाँकी छ। अब हारको श्रृंखला तोड्दै सेमिफाइनलको दौडलाई जीवित राख्ने प्रदर्शनतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।