शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे आज मन्त्रालयमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
359
Shares
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालाहरूसँग विस्तृत छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको प्रमुख उपस्थितिमा मन्त्रालयमा हुने यस छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न सङ्घ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, यस क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवर्द्धन, नीतिगत सुधार र प्रभावकारी नियामकीय व्यवस्थाबारे छलफल गरी क्षेत्रलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने उद्देश्यले यो बैठक डाकिएको हो। यस छलफलमा नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श सङ्घ (फेकन), सक्रिय शैक्षिक परामर्श सङ्घ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानीज भाषा स्कुल सङ्घ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेशन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत एक्यान, नेवा र नेक्साका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
मन्त्रालयका अनुसार बैठकमा विशेष गरी ‘शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ सम्बन्धी व्यवस्थाका साथै यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाहरूको महत्वपूर्ण सुझाव सङ्कलन गरिनेछ। शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला र निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई उच्च प्राथमिकता दिँदै आउनुभएको मन्त्रालयले जनाएको छ।