arrow

बीपीको सपना साकार पार्न नयाँ पुस्तासँग सहकार्य गर्न कांग्रेस तयार: अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
ajaybabu-shiwakoti-05-04.jpg

चरिकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नन्दप्रसाद जानुका फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले जननायक बीपी कोइरालाले देखेको समुन्नत नेपालको सपना साकार पार्न नयाँ पुस्तासँग सहकार्य गर्दै अघि बढ्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ दोलखा र नन्दप्रसाद जानुका फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न ग्रीन रन प्रतियोगितापछि आयोजित कार्यक्रममा बोल्दै शिवाकोटीले बीपीका विचार र आदर्शलाई व्यवहारमा उतार्दै युवा पुस्तालाई राष्ट्र निर्माणमा जोड्न आवश्यक रहेको बताए।

उनले प्रतियोगितामा सहभागी सबै खेलाडी तथा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले स्वस्थ, अनुशासित र जिम्मेवार समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

बीपी कोइरालाको स्मृतिलाई जीवन्त राख्दै स्वास्थ्य, अनुशासन, वातावरण संरक्षण र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा करिब दुई सय विद्यार्थी तथा स्थानीय धावकको उत्साहजनक सहभागिता रहेको थियो।

करिब तीन किलोमिटर लामो दौड चरिकोटको सातदोबाटोबाट शुरू भई पाटीखोला, जिल्ला वन कार्यालय, टुँडिखेल र बीचबजार हुँदै पुनः सातदोबाटोमै पुगेर सम्पन्न भएको थियो।

प्रतियोगिताको विद्यालयस्तरीय छात्रतर्फ समीर थामी प्रथम, सुरेन्द्र कुँवर द्वितीय र पासाङ तामाङ तृतीय भए। छात्रातर्फ दर्शना श्रेष्ठ प्रथम, पुजना अधिकारी द्वितीय तथा टङ्की थामी तृतीय भइन्। खुलातर्फ आदित्य कुमार यादव प्रथम, अच्युत पराजुली द्वितीय तथा अङ्कित माझी तृतीय बने।

विद्यालयस्तरीय छात्र र छात्रा दुवै समूहका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजेताहरूलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पुरस्कार वितरण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ