arrow

हेटौँडा कपडा उद्योग पुनर्स्थापनाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
hetauda-kapada-udhyog.jpg

काठमाडौं । एक समय नेपालको औद्योगिक विकास र स्वदेशी उत्पादनको बलियो पहिचान बनेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी तीब्र पारिएको छ। राजनीतिक अस्थिरता, कमजोर व्यवस्थापन र विभिन्न कारणले वि.सं. २०५७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो उद्योगलाई हाल सरकारको विशेष पहलमा ब्युँताउन लागिएको हो।

उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीका अनुसार उद्योग पुनः सञ्चालनका लागि मन्त्रालय र नेपाली सेनाले छुट्टाछुट्टै प्राविधिक अध्ययन सम्पन्न गरेका छन्। प्रारम्भिक सरसफाइ, निरीक्षण तथा पूर्वतयारीका लागि अर्थ मन्त्रालयले नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। प्राप्त निर्देशनअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) सुरु गर्नेगरी काम अगाडि बढाइरहेको छ।

सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको समेतको सहयोगमा हाल उद्योग परिसरको सरसफाइ तथा पुराना मेसिनरी औजारहरूको मर्मत र परीक्षणको काम भइरहेको छ।

पहिलो चरणमा हाल उपलब्ध पुराना मेसिनहरूको प्रयोग गरेर सेना, प्रहरी तथा अन्य सार्वजनिक निकायका कर्मचारीहरूका लागि आवश्यक पर्ने पोसाक (बर्दी) र विद्यालयका पोसाकहरू उत्पादन गर्ने लक्ष्य राखिएको छ। परीक्षण उत्पादन सफल भएपछि र दोस्रो चरणको प्राविधिक अध्ययनले दिएको सिफारिसका आधारमा नयाँ उपकरण खरिद तथा दीर्घकालीन सञ्चालन मोडलबारे थप निर्णय लिइने मन्त्रालयले जनाएको छ।

चीन सरकारको आर्थिक सहयोग र नेपाल सरकारको लगानीमा वि.सं. २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले वि.सं. २०३५ सालदेखि औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो। स्थापनाको १९ वर्ष नबित्दै विभिन्न समस्याका कारण यो उद्योग बन्द हुन पुगेको थियो। यसअघि पनि यसलाई सञ्चालनमा ल्याउने प्रयास भए पनि यसपटक भने सरकारको ठोस योजना र सुरक्षा निकायको प्रत्यक्ष संलग्नतामा काम अघि बढेकाले उद्योग पुनः सञ्चालनमा आउनेमा आशा जागेको छ।

यसैबीच, मन्त्रालयले बुटवल धागो कारखाना र बर्दियास्थित कपास विकास समितिसँग सम्बन्धित विषयमा पनि सम्भाव्यता अध्ययन तथा सम्पत्ति र दायित्वको विश्लेषण कार्य अगाडि बढाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ