मुसलधारे वर्षाको सम्भावना कायमै, देशभरका छ मुख्य राजमार्ग अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
171
Shares
काठमाडौँ । निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोले छ ओटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न सडक खण्डमा पहिरो खस्दा र लेदो जम्मा हुँदा यातायात सेवा ठप्प भएको हो।
पहिरोका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्ड, कान्ति लोकपथ, मेची राजमार्ग र सालझन्डी–ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त राजमार्गको आवागमन बन्द भएको छ भने बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध राजमार्गहरूमा सुरक्षा निकाय र सडक विभागको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि पनि मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भन्दै नदी तटीय क्षेत्र तथा पहिरोको सम्भावित जोखिम भएका स्थानका बासिन्दा र यात्रुहरूलाई विशेष सतर्कता अपनाउन र आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेको छ।