बीमा प्राधिकरणदेखि विद्युतीय राहदानी छपाईसम्मका विषयमा समितिमा छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
92
Shares
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका चार वटा विषयगत समितिको बैठक आज मङ्गलवार बस्दैछ। आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो।
विभिन्न समितिहरूमा आज बीमा क्षेत्रको नियमन, सांस्कृतिक सम्पदा विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक र राहदानी छपाई जस्ता महत्वपूर्ण विषयहरू कार्यसूचीमा रहेका छन्।
अर्थ समिति
आज बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल बीमा प्राधिकरणसँग विभिन्न महत्वपूर्ण विषयमा जानकारी लिने कार्यसूची रहेको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ मा नेपाल बीमा प्राधिकरणबाट भएगरेका मुख्य–मुख्य कामकारबाही, बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या र चुनौतीहरूका बारेमा छलफल हुनेछ। यसका साथै बीमितको हित संरक्षण, बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान वा कम्पनीहरूको विगत ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनका लागि बीमा प्राधिकरणले चालेका पहलकदमी लगायतका विविध विषयमा छलफल हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
बिहान ९:०० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अमूर्त सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उद्देश्यका साथ अघि सारिएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
बिहान ८:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' का सम्बन्धमा दफावार छलफल र विमर्श हुने कार्यसूची तय गरिएको छ।
सार्वजनिक लेखा समिति
यसै गरी, बिहान ९:०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पछिल्लो समय चर्चामा रहेको विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाई सम्बन्धमा देखिएका प्रक्रियागत र आर्थिक विषयहरू तथा अन्य विविध विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ।