arrow

मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
badhi-flood-always-modikhola.jpg

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका ११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो । 

बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पुर्याएको छ । मोदीखोलामा दिउँसो ३ बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गरे । 

यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् । 

विद्युत् गृहमा बाढीसहित ढुङ्गा, बालुवालगायत वस्तु पसेर यहाँ रहेका उपकरणहरू बिग्रिने खतराले उत्पादन बन्द गरिएको तल्लो मोदी जलविद्युत् आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले जानकारी दिए । 

मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ