युद्धविराम सकिए पनि इरानसँगको वार्ता जारी राख्न ट्रम्प सहमत
मध्यस्थताका लागि कतारी टोली तेहरानमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
711
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको कूटनीतिक वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन्। तर उनले तेहरानसँग रहँदै आएको युद्धविराम भने अब आधिकारिक रूपमा समाप्त भएको स्पष्ट पारेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मार्फत यस्तो घोषणा गरेका हुन्।
दुई देशबिच सैन्य टकराव बढ्दै गएपछि तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरानको राजधानी तेहरान पुगेका छन्। ट्रम्प प्रशासनसँगको आवश्यक समन्वय र सल्लाहपछि कतारी टोली त्यसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
अमेरिकी समाचार संस्था 'एक्जियस' का अनुसार दुई देशबिचको अर्को चरणको उच्चस्तरीय वार्ता आगामी हप्ता हुन सक्ने सम्भावना बलियो छ। वार्ताका लागि युरोपेली मुलुक स्विट्जरल्याण्डलाई सम्भावित तटस्थ स्थलको रूपमा हेरिएको छ।
विश्व व्यापारको रणनीतिक मार्ग मानिने हर्मुज जलमार्ग भएर चल्ने व्यावसायिक जहाजहरूमाथि शृङ्खलाबद्ध आक्रमणहरू भएपछि अमेरिकी सेनाले यसै हप्ताको सुरुमा इरानभित्र तीव्र हवाई आक्रमण (एयरस्ट्राइक) गरेको थियो। सोही सैन्य कारबाही र तनावपूर्ण वातावरणका बीच राष्ट्रपति ट्रम्पको यो नयाँ राजनीतिक भनाइ सार्वजनिक भएको हो, जसले युद्ध र संवाद दुवै प्रक्रिया सँगसँगै अघि बढिरहेको सङ्केत गर्छ।