सोमेश्वरगढीमा काजी अभिमानसिंहको पूर्णकदको शालिक अनावरण, पार्कले पायो पूर्णता
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
202
Shares
काठमाडौँ । समुद्र सतहबाट ८८० मिटरको उचाइमा अवस्थित ऐतिहासिक एवं सामरिक महत्वको सोमेश्वरगढीमा नेपाल एकीकरणका महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ।
माडी नगरपालिका र नेपाली सेनाको श्री नयाँ गोरख गणको संयुक्त सहकार्य तथा माडी प्रज्ञा प्रतिष्ठानको खोज-अनुसन्धानको आधारमा शालिक र पार्क निर्माण कार्यले पूर्णता पाएको हो। शनिबार आयोजित एक विशेष समारोहका बीच नेपाली सेनाका मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले बस्न्यातको पूर्णकदको शालिक अनावरण गरे।
पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित ठिङ्ग उभिएको काजी बस्न्यातको शालिकले त्यहाँ पुग्ने जो-कोहीलाई नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको बलियो ऊर्जा प्रदान गर्ने उपरथी खड्काले विश्वास व्यक्त गरे। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गरेका थिए भने माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नवनिर्मित सोमेश्वर ढुङ्गेधाराको उद्घाटन गरिन्।
नगरप्रमुख महतोले प्रतिकूल मौसम र भौगोलिक अवस्थाका बीच पनि नेपाली सेनाले आफ्नो सीप र मिहिनेत लगाएर पार्कलाई पूर्णता दिएको भन्दै सेनाको योगदानको उच्च प्रशंसा गरिन्। सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भइसकेकाले यसको ऐतिहासिक र धार्मिक महत्व अझ बढेको उनले बताइन्। माडीमा थुप्रै पर्यटकीय र धार्मिक सम्भावना रहेकाले यस क्षेत्रलाई 'पर्यटकीय नगरी' घोषणा गर्न प्रदेश सरकारसँग निरन्तर अनुरोध गरिरहेको उनले जानकारी दिइन्।
त्यस्तै, प्रदेशसभा सदस्य ढकालले राष्ट्रिय गौरव र इतिहास जगेर्नाका लागि भएको यो कार्य उदाहरणीय रहेको भन्दै गढीको विकासका लागि आगामी दिनमा प्रदेश सरकारका तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
इतिहासअनुसार नेपालका प्रथम सेनापति काजी शिवरामसिंह बस्न्यात र वीराङ्गना शुरप्रभा बस्न्यातका साहिला सुपुत्रका रूपमा विसं १८०१ फागुन ७ गते गोरखामा जन्मिएका अभिमानसिंह बस्न्यात नेपाल एकीकरण अभियानका प्रमुख स्तम्भ हुन्। उनले विसं १८१२ मा गोरखा सिरानचोक अभियानबाट सैनिक जीवन सुरु गरेका थिए।
उनले विसं १८१९ को मकवानपुर विजय, विसं १८२५ को काठमाडौँ तथा पाटन विजय र विसं १८२६ को भक्तपुर विजयमा निर्णायक भूमिका निर्वाह गरेका थिए। यस्तै, विसं १८३० देखि १८३१ सम्म माझकिरात, चौदण्डी, विजयपुर र लिम्बुवान हुँदै नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पुर्याउने महान् अभियानको सफल नेतृत्व पनि उनकै कमान्डमा भएको थियो। उनले विसं १८४१ मा मकैडाँडाको युद्ध र विसं १८४८-१८४९ को नेपाल–तिब्बत युद्धमा समेत राष्ट्रिय हितका लागि अविस्मरणीय योगदान दिएका थिए।
चुरे पर्वतमालाको दक्षिणी शृङ्खलामा अवस्थित सोमेश्वरगढी तत्कालीन समयमा नेपालको दक्षिणी प्रतिरक्षा प्रणालीको प्रमुख केन्द्र थियो। मध्यपहाड, माडी उपत्यका र तराई जोड्ने रणनीतिक मार्गमाथि निगरानी राख्न सकिने यस विशिष्ट गढीलाई विसं १८३४ मा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तत्कालीन तनहुँ राज्यबाट जितेर नेपालमा समाहित गरिएको थियो। सैनिक विधाका साथै राज्य सञ्चालनमा समेत निपुण बस्न्यातले विसं १८५० देखि १८५५ सम्म काजीका रूपमा राज्य प्रशासन र आर्थिक व्यवस्थापनको नेतृत्व सम्हालेका थिए। अनवरत राष्ट्रसेवामा समर्पित उनको विसं १८५७ असार १३ गते कालावञ्जर क्षेत्रमा देहावसान भएको थियो।