बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विनको उपचारका क्रममा निधन
भ्रामक समाचार नप्रसार गर्न परिवारको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
540
Shares
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ५० वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। अश्विनको निधन भएको जानकारी उनका भाइ दीपक राउतले दिए।
राउतले आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। चिकित्सकको निगरानीमा उपचार भइरहे पनि उनको ज्यान जोगाउन नसकिएको परिवारले जनाएको छ।
राउतका भाइ दीपकका अनुसार बिहान करिब ६ बजे परिवार श्राद्धको तयारीमा रहेको बेला उनकी श्रीमती नुहाउन गएकी थिइन्। सोही समयमा राउतले घरबाहिर पार्किङ गरिएको स्कूटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
आगो लागेको थाहा पाएपछि परिवारका सदस्य, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाएर प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो।
परिवारका अनुसार राउतको करिब एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अपेक्षाअनुसार स्वास्थ्यमा सुधार नआएकाले उनी केही समयदेखि मानसिक तनावमा रहेका थिए। थप उपचारको तयारी भइरहेकै अवस्थामा उनले यस्तो कदम चालेको परिवारको भनाइ छ।
यसैबीच, घटनालाई पारिवारिक विवादसँग जोडेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति परिवारले गम्भीर आपत्ति जनाएको छ।
दीपक राउतले घटनाको वास्तविकता नबुझी अनुमानका आधारमा समाचार प्रकाशन गर्दा शोकमा रहेको परिवारमाथि थप मानसिक पीडा परेको बताए। प्रत्येक घटनाको प्रकृति फरक हुने भएकाले तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न उनले सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
उनले आधारहीन तथा भ्रामक समाचार तत्काल सच्याउन र यस्ता संवेदनशील घटनामा जिम्मेवार तथा संयमित पत्रकारिता अपनाउनसमेत सम्बन्धित सञ्चारमाध्यमसँग अनुरोध गरेका छन्।