arrow

बालेन सरकारको सयः विद्यार्थी भन्छन् - प्रयास राम्रो, केही निर्णय संविधान विपरीत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
three-youth.jpg

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको सरकारको पहिलो सय दिनप्रति युवाले मिश्रित प्रतिक्रिया दिएका छन्।

सुशासन, इगभर्नेन्स र भ्रष्टाचार नियन्त्रणमा सरकारले केही सकारात्मक शुरूआत गरे पनि अधिकांश प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूको निष्कर्ष छ।

काठमाडौँका विभिन्न क्याम्पसका विद्यार्थी तथा युवा अभियन्ताले सरकारले अपेक्षा जगाउने निर्णय गरे पनि नतिजा देखिने गरी काम गर्न नसकेको बताएका हुन्।

उनीहरूले शिक्षा सुधार, स्वदेशमै रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।

त्रिचन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सदस्य मनोज भण्डारीले सरकारले इगभर्नेन्सलाई प्राथमिकतामा राखे पनि सय दिने कार्ययोजनाको अधिकांश हिस्सा कार्यान्वयन हुन नसकेको दाबी गरे।

भ्रष्टाचार नियन्त्रण र सुशासनका एजेन्डा सकारात्मक भए पनि ती काम कानूनी प्रक्रिया र विधिको शासनअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।

मन्त्रीदेखि सर्वसाधारणसम्म सबैका लागि कानून समान रूपमा लागू हुनुपर्नेमा उनले जोड दिए।

युवा अभियन्ता गौरव पाण्डेले सरकारका केही निर्णय सन्तोषजनक भए पनि कतिपय निर्णय संविधानको मर्मअनुकूल नभएको टिप्पणी गरे।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिलाई उदाहरण दिँदै उनले सार्वजनिक नियुक्तिमा पारदर्शिता र योग्यता सुनिश्चित हुनुपर्ने बताए।

उनले बढ्दो युवा पलायन रोक्न स्वदेशमै रोजगारी, उद्यमशीलता र स्टार्टअपमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।

नेता पुरुषोत्तम पञ्जियारले सरकारको उद्देश्य सकारात्मक देखिए पनि कार्यशैली थप व्यवस्थित र प्रणालीगत हुनुपर्ने बताए।

शिक्षा क्षेत्रलाई सीपमूलक र प्रविधिमैत्री बनाउँदै सार्वजनिक पदाधिकारीको सम्पत्तिको स्रोत पारदर्शी बनाउनुपर्ने र भ्रष्टाचार पुष्टि भए कानूनअनुसार कडा कार्बाही गर्नुपर्ने उनको सुझाव छ।

युवाहरूले सरकारप्रति अझै आशा कायम रहेको जनाउँदै आगामी दिनमा घोषणा होइन, परिणाममुखी काममार्फत जनविश्वास जित्नुपर्नेमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ