सरकारले सय बुँदे वाचाको ३०-४० प्रतिशतमात्र पूरा गर्यो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
464
Shares
काठमाडौँ । जेन-जी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनले आगामी स्थानीय तह निर्वाचनअघि नै नयाँ दल घोषणा गर्ने तयारी भइरहेको खुलासा गरेका छन्।
सरकारको सय दिनको समीक्षा संवादका क्रममा ढुङ्गानाले विभिन्न क्षेत्रका युवासहित विज्ञ र सामाजिक अभियन्तासँग निरन्तर छलफल भइरहेको बताए।
जेन-जी आन्दोलनपछि स्वास्थ्य मन्त्रीका लागि चर्चामा आएका डा. जगत विकलगायतको समूहले पनि नयाँ शक्ति निर्माण अभियानमा साथ दिइरहेको उनले जानकारी दिए।
ढुङ्गानाले आफूहरू मन्त्री बन्न वा सत्ता प्राप्तिका लागि नभई देशमा नयाँ राजनीतिक संस्कृतिको विकास गर्न अभियानमा लागेको बताए। उनका अनुसार जेनजी आन्दोलनको मुख्य उद्देश्य पुस्तान्तरणको बहसलाई स्थापित गर्नु थियो र अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको छ।
उनले फागुन २१ को निर्वाचनअघि बृहत् वैचारिक छलफलका लागि निर्वाचन केही समय पर सार्न चाहेको स्मरण गर्दै नयाँ र स्वच्छ सोच भएका युवालाई एक ठाउँमा ल्याएर वैचारिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य रहेको बताए।
ढुङ्गानाले पुराना राजनीतिक दलले जनविश्वास गुमाइसकेको दाबी गर्दै अबको प्रतिस्पर्धा ‘युवा बनाम युवा’ हुनुपर्ने बताए। उनका अनुसार आन्दोलनले युवाले पनि देशको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश स्थापित गरेको छ र त्यसलाई संस्थागत गर्न नयाँ राजनीतिक शक्ति आवश्यक छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन परिणामलाई ‘ल्यान्डस्लाइड भिक्ट्री’को संज्ञा दिँदै जनताले पुराना दलसँग सम्बन्धविच्छेद गर्न खोजेको बताए। तर रास्वपाले पनि जनअपेक्षाअनुसार काम गर्न नसके विकल्प खोजिने उनको भनाइ थियो।
सरकारको सय दिनबारे टिप्पणी गर्दै ढुङ्गानाले अहिले नै अन्तिम मूल्याङ्कन गर्न हतार हुने बताए। उनका अनुसार सरकारले सार्वजनिक गरेको सयबुँदे कार्यसूचीमध्ये हालसम्म करिब ३० देखि ४० प्रतिशत मात्र कार्यान्वयन भएको देखिन्छ।
प्रधानमन्त्री वालेन्द्र साहको संसदीय उपस्थितिप्रति पनि उनले प्रश्न उठाए। लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिता लोकतन्त्रको आधार भएको बताए। साथै कूटनीतिक मर्यादा र संसदीय अभ्यासलाई सरकारले थप मजबुत बनाउनुपर्ने सुझाव पनि दिए।