arrow

प्रेस स्वतन्त्रता कसैले हनन गर्न सक्दैन [भिडियो]

सरकार सङ्कुचन गर्ने पक्षमा छैन: सञ्चारमन्त्री तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
bikram-timalsinas.jpg

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्ने पक्षमा नरहेको प्रष्ट पार्दै कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री तिमिल्सिनाले सरकारलाई लोकतन्त्रको मुख्य आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको उल्लेख गरे। सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन गर्न लागेको भन्दै पत्रकार वृत्तमा देखिएको चिन्ताप्रति लक्षित गर्दै उनले भने, “यस विषयमा चिन्तित नहुन म सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु। आजको मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन, यो एक संवैधानिक अधिकार हो र कसैले पनि यसलाई हनन गर्न सक्दैन।”

यदि सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्‍याएको अवस्था भएमा देशमा विभिन्न संवैधानिक तथा कानुनी उपचारका व्यवस्थाहरू उपलब्ध रहेको उनले जिकिर गरे। सञ्चार मन्त्रालयका तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले कतिपय विषय व्याख्या र न्यारेटिभका कारण फरक ढङ्गले बुझिने हुनाले कुनै द्विविधा भए सरकार पत्रकारहरूसँग बसेर छलफल र संवाद गर्न सधैँ तयार रहेको स्पष्ट पारे।

उनले थपे, “मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न भनेको सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो, यसमा कुनै विवाद छैन। यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसबारे प्रमाणसहित प्रश्न उठाउनु नै पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो।” सरकार जिम्मेवार बन्नैपर्ने धारणा राख्दै उनले पत्रकारिता जगत्‌ले आफ्नो व्यावसायिक मर्यादाभित्र रहेर सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ