arrow

दाउन्ने सडक निर्माण अन्तिम चरणमा, ३० वर्ष टिक्ने कङ्क्रिट सडक तयार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
daunne-sadak-nawalpur.jpg

काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा गरिएको कङ्क्रिट (ढलान) सडकको आयु कम्तीमा ३० वर्ष रहने गरी निर्माण गरिएको आयोजनाले जनाएको छ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था, पहिरोको जोखिम तथा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा कङ्क्रिट सडक निर्माण गरिएको हो।

उनका अनुसार भार नियन्त्रण र डिजाइनअनुसारका मापदण्ड पालना भए सडक ३० देखि ४० वर्षसम्म टिक्न सक्छ।

ढकालले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिए। उनले आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमानलाई आधार मानेर दैनिक १२ हजारदेखि २० हजारसम्म सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको बताए।

हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ। सडकको एकातर्फको निर्माण कार्य भने पूर्ण रूपमा सम्पन्न भइसकेको र सो भागमा सवारी आवागमनसमेत सञ्चालनमा आइसकेको ढकालले बताए।

उनले ३० वर्षको आयु सुनिश्चित हुने गरी सडक निर्माण गरिएको उल्लेख गर्दै भार नियन्त्रण र अन्य प्राविधिक मापदण्ड पालना भए यसको आयु ४० वर्षसम्म पुग्न सक्ने बताए।

दैनिक १२ देखि २० हजारसम्म सवारी साधन सञ्चालन हुँदा पनि सडकमा कुनै असर नपर्ने गरी आगामी तीन दशकको ट्राफिक पूर्वानुमानलाई आधार बनाएर संरचना तयार गरिएको उनको भनाइ छ।

दाउन्ने क्षेत्रमा कालोपत्रे सडक छिट्टै बिग्रिने, बर्सेनि मर्मत गर्नुपर्ने तथा सर्वसाधारणले लामो समयदेखि जाम, धुलो र सडक अवरोधको सास्ती खेप्दै आएको अवस्थालाई ध्यानमा राख्दै आयोजनाले कङ्क्रिट सडक निर्माणको विकल्प रोजेको हो।

आयोजनाले यो सडक निर्माण सम्पन्न भएपछि दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध, मर्मतसम्भार र सवारी आवागमनमा हुने समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ