लैङ्गिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री वादी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
302
Shares
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसा रोकथामको विषयलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताएकी छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो कुरा बताएकी हुन्। मन्त्री वादीले लैङ्गिक हिंसाविरुद्ध सरकारले विशेष सामाजिक कार्ययोजना तर्जुमा गरेको र त्यसमा डिजिटल हिंसा रोकथामको विषयलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिइन्।
लैङ्गिक तथा डिजिटल हिंसा रोकथामका लागि मन्त्रालयले सचेतनामूलक अडियो र भिडियो सामग्रीहरू निर्माण गरी प्रसारणको अन्तिम तयारी पूरा गरेको मन्त्री वादीले उल्लेख गरिन्। यसका साथै मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ मा प्रविधिको दुरुपयोग गरी हुने मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक संयन्त्रको व्यवस्था गरिएको समेत उनले बताइन्।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको सातौँ आवधिक प्रतिवेदनउपर नेपाललाई प्राप्त सुझावहरू कार्यान्वयन गर्न राष्ट्रिय मार्गचित्र, २०८२ तयार पारिएको उनले स्पष्ट पारिन्। उक्त मार्गचित्रमा महिला र बालिकाविरुद्ध हुने प्रविधिजन्य हिंसा लगायतका सबै स्वरूपहरूलाई अपराधीकरण गर्न राष्ट्रिय नियामक प्रक्रियामा जोड दिइएको उनको भनाइ थियो। मन्त्रालयले लैङ्गिक हिंसाबाट पीडित र प्रभावित महिलाहरूका लागि हाल २१ वटा स्थानीय तहमा सञ्चालनमा रहेका सुरक्षित आश्रयस्थलहरूलाई निरन्तर आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आएको समेत मन्त्री वादीले जानकारी दिइन्।