सरकार गाडीमा कालो सिसा हटाउन निर्देशन दिने, नियम तोड्ने मन्त्रीदेखि रास्वपाका नेता-कार्यकर्ता [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
220
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएको दुई दिन भए पनि सरकारकै मन्त्रीहरू, सत्ताधारी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिदेखि नेता तथा कार्यकर्ताले भने गाडीमा कालो सिसाकै प्रयोग गरिरहेका छन् ।
सरकार एक्सप्रेस गाडी हो भन्ने प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेनको भनाइलाई उनकै मन्त्री र उनकै पार्टीका नेता कार्यकर्ताले नियम नमान्नुलाई भने रास्वपाको भनाइ र गराइबीचको फरक भनी टिप्पणी भइरहेको छ ।
केही दिनअघि चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित भएका शीर्ष पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज आधिकारिक रूपमा पद तथा गोपनीयताको शपथ लिन उपस्थित भएका नेताहरूले नियम उल्लंघन गरेका हुन् ।
उक्त महाधिवेशनबाट पार्टीको मुख्य नेतृत्व अर्थात् सभापतिमा रवि लामिछाने पुनः निर्वाचित भएका थिए । त्यसैगरी पार्टीको उपसभापति पदमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन् भने साङ्गठनिक जिम्मेवारी सम्हाल्ने महामन्त्री पदमा विपिन आचार्य चयन भएका छन् ।
महाधिवेशनबाट निर्वाचित भएका कार्यसमितिका अलावा केन्द्रीय समितिमा रहनुपर्ने बाँकी अन्य पदाधिकारीहरू भने सभापतिले विधानबमोजिम मनोनयन गर्न बाँकी रहेको छ । महाधिवेशन सकिएलगत्तै आएको नयाँ टिमले पार्टीको कामलाई थप सङ्गठित बनाउन आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।
सोही कार्यक्रममा सहभागी भएका उनीहरूले एकल पार्टी सत्ताको निर्णय उल्लंघन भएको हो ।
गता सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिएका थिए । गृहमन्त्री गुरुङले आफ्नो सवारीको कालो स्टिकर पनि हटाइदिन निर्देशन दिएका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसहितका अधिकृतलाई निर्देशन दिँदै गुरुङले भनेका थिए, “मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।”
असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउँदै कारबाही गरिरहेको छ ।
कालो ‘स्टिकर’ टाँस्ने सवारी कारबाहीमा
कानूनविपरीत सिसामा कालो स्टिकर टाँसेर सञ्चालन भएका निजी तथा सार्वजनिक सवारीलाई कारबाही भएको छ । काठमाडौँ उपत्यकामा चल्ने यस्ता सवारीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष पहलमा कारबाही गरिएको हो ।
कारबाही गरिएका सवारीहरूलाई प्रहरीले कालो स्टिकर हटाएर जरिबानाका लागि चिट काटेर यातायात व्यवस्था कार्यालयमा पठाएको छ । कालो सिसाको प्रयोग गरेर लागु औषध ओसारपसार, चोरी डकैती तथा हातहतियार ओसारपसारसम्म हुने गरेको गुनासो बढेपछि प्रहरीले कारबाहीको अभियान चलाएको हो ।
कार्यालयका अनुसार यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार स्वीकृति नलिई सवारीको रङ, स्वरूप र इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानूनी व्यवस्था छ ।