चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी आजदेखि बन्द
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
101
Shares
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने लोकप्रिय जङ्गल सफारी सेवा आजदेखि पूर्ण रूपमा बन्द भएको छ। निकुञ्ज प्रशासनले वर्षात्को समयमा आउने भलबाढी, हिलो र रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता प्राकृतिक कारणले पर्यटकको सुरक्षामा असहजता आउने भन्दै सफारी रोक्ने निर्णय गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यो सेवा स्थगित गरिएको हो।
वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम सबैभन्दा उपयुक्त र संवेदनशील समय हुने भएकाले पनि यो बेला निकुञ्जभित्र मानवीय गतिविधि कम गर्नुपर्ने उनले बताए। यसका साथै निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने र जङ्गलका स-साना खोलाखोल्सीमा आकस्मिक बाढी आउने खतरा हुने भएकाले सफारी बन्द गरिएको उनले प्रष्ट पारे। निकुञ्जले हरेक वर्ष मनसुनको समयमा सफारी बन्द गर्दै आएको छ। वर्षात्को अवस्था र मौसमको सुधार हेरेर आगामी दसैँको आसपासबाट मात्रै निकुञ्जभित्रको सफारी पुनः खुल्ला गरिने विगतको परम्परा छ।
निकुञ्जको मुख्य कोर क्षेत्रभित्र हुने सफारी रोकिएको भए पनि निकुञ्ज बाहिरका मध्यवर्ती सामुदायिक वनहरूमा गरिने सफारी भने सुचारु रहने सूचना अधिकारी थापामगरले जानकारी दिए। चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न नाकाहरूबाट व्यवसायीहरूले जीप सफारीका लागि पर्यटकलाई निकुञ्ज लैजाने गर्दथे। यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू विशेष गरी जीप सफारीमार्फत दुर्लभ वन्यजन्तु र प्राकृतिक वन हेर्न रुचाउँछन्।