न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट
८९ अङ्कसहित पहिलो स्थान कायम
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
338
Shares
काठमाडौँ । चितवनको भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा देशकै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको पछिल्लो अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल ८९ अङ्क प्राप्त गर्दै मुलुकका सङ्घीय अस्पतालहरूमध्ये पहिलो भएको हो।
मन्त्रालयले अस्पतालहरूको सेवा र गुणस्तर मापनका लागि तयार पारेका विभिन्न १ हजार ४९७ वटा सूचकका आधारमा यो परीक्षण गरेको थियो। महाशाखाका संयोजक डा. श्रीराम तिवारीका अनुसार देशभरका १४ वटा सङ्घीय अस्पतालहरूमध्ये भरतपुर अस्पतालको सेवा प्रवाह सबैभन्दा राम्रो देखिएको छ।
यस मूल्याङ्कनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन कार्य भइरहेको जनाइएको छ। भरतपुर अस्पतालले गत वर्ष पनि ८८ अङ्क ल्याएर उत्कृष्ट स्थान हासिल गरेको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा अस्पतालले आफ्नो सेवामा थप सुधार गरेको बताए। बिरामीले पाउने सेवा सुविधा, आधुनिक उपकरणको उपलब्धता, व्यवस्थित कार्यतालिका, सरसफाइ, औषधिको प्रबन्ध र दक्ष जनशक्तिको अवस्थालाई निरन्तर अद्यावधिक गरिएकाले यो सफलता मिलेको उनको भनाइ छ। कुल ६०० श्यया क्षमताको यस अस्पतालमा हाल १४ वटा अतिविशिष्ट सेवाहरू सञ्चालनमा छन्, जहाँ दैनिक २ हजार ५०० देखि ३ हजारसम्म बिरामीहरू बहिरङ्ग (ओपिडी) सेवा लिन आउने गर्दछन्।
जिल्लाका निजी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि सरकारी भरतपुर अस्पतालमा बिमाका बिरामीहरूको चाप अत्यधिक बढेको छ। मूल्याङ्कनका सूचकहरूमा अस्पताल अब्बल देखिए पनि बिरामीको उच्च चाप र सीमित स्रोतसाधनका बिच काम गर्नुपर्ने बाध्यता रहेकाले सोचेजस्तो र बिरामीको अपेक्षाअनुसार अझै पूर्ण सेवा दिन नसकिएको मेसु डा. बगालेले स्वीकार गरे।