arrow

कान्ति लोकपथमा रात्रिकालीन यात्रा पूर्ण रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
kanti-lokpath.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज एक सूचना जारी गर्दै असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथ हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न र नगराउन निर्देशन दिएका हुन्।

गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी 'आवश्यक सतर्कता' सम्बन्धी सूचनाको आधारमा प्रशासनले यो कदम चालेको हो। असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ। यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने, लेदो र गेग्रान बहने तथा बाढी र नदीको जलसतह उच्च हुने भएकाले रात्रिकालीन यात्रामा पूर्ण रोक लगाइएको सूचनामा उल्लेख छ।

प्रशासनले यो मौसममा ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने र नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न र नगराउन पनि सचेत गराएको छ। बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनिएको छ।

मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचना र सुरक्षा निकायबाट जारी हुने निर्देशनको पूर्ण पालना गरेर सुरक्षित भएपछि मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। कुनै पनि विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर ११४९ मा जानकारी गराउन भनिएको छ। वर्षात्को समयमा जोखिमको परिस्थितिको मूल्याङ्कन गरी सुरक्षाकर्मीले जिल्लाभित्रका अन्य सडकमा पनि निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले सो कार्यमा सबैलाई सहयोग र समन्वयका लागि प्रशासनले आग्रह गरेको छ।



लोकप्रिय समाचार
नयाँ